केही दिनभित्रै सार्वजनिक सवारी सञ्चालन गर्ने तयारीमा यातायात व्यवसायी

केही दिनभित्रै सार्वजनिक सवारी सञ्चालन गर्ने तयारीमा यातायात व्यवसायी

काठमाडाैं, ३ साउन। यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी सञ्चालन गर्ने बताएका छन् । मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले सार्वजनिक सवारी चलाउने तयारी थालेको जनाएका छन् ।

यातायात व्यवसायीले  बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्नेलगायतका माग राखेका थिए । मौद्रिक नीतिले माग सम्बोधन गरेपछि सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको व्यवसायीको भनाइ छ ।

सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेकाले अधिकांश यातायात कम्पनीले अझै सेवा सुरु गर्न सकेका छैनन् ।

हाल साझा, मयूर, महानगर, संयुक्त, सुन्दरलगायत कम्पनीले काठमाडौंमा यात्रु सेवा दिइरहेका छन् । त्यस्तै, केही माइक्रो तथा टेम्पोले पनि सेवा दिइरहेका छन् ।

उनीहरुले सरकारले तोकेअनुसार एउटा पंक्तिको एउटा सिटमा एक जना मात्रै बस्ने मापदण्ड पालना गरेका छन् । सरकारले यसरी सवारी चलाउँदा घाटा हुन नदिन यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था पनि गरेको छ । तर,  यात्रु पनि पातलो भएकाले कम्पनीहरुले सबै बस निकाल्न सकेका छैनन् ।