शनिबार, आषाढ २७, २०७७
    ओएमजी Omg!

    लकडाउनका कारण ४ करोड ७० लाख महिला अनिच्छित गर्भवती

    आईतवार, १४ आषाढ २०७७, आहाखबर

    काठमाडौं। कोरोना भाइरसको कहरले मानिसको जीवनका हरेक पाटामा असर पारिरहेको छ। नेपालमा सामान्य अवस्थामा भन्दा करिब २ सय प्रतिशत मातृ मृत्युदर बढेको स्वास्थ्य मन्त्रालय निकट स्रोत बताउँछ। पछिल्ला केही वर्ष यता सरदर ८० जना सुत्केरीको मृत्यु हुने गरेकोमा लकडाउन अवधिमा मात्रै ३० जनाभन्दा बढी सुत्केरीको मृत्यु भएको तथ्यांक छ।

    बच्चा जन्मिएदेखि ४२ दिनसम्म हुने मृत्युलाई मातृ मृत्युदर मानिन्छ। नयाँ दिल्लीका बिजेन्द्र सिंह आफ्नी गर्भवती पत्नीलाई सुत्केरी ब्यथा लागेपछि १–१ गरेर ८ वटा अस्पतालमा लैजाँदा पनि कोरोनाका कारण कुनैले भर्ना गर्न मानेनन्। अन्त्यमा १५ घन्टामा उनको मृत्यु भयो। पपुवा न्युगिनीमा गर्भवती महिला उपचारका लागि अस्पताल पुगिन्। उनलाई रक्तचापको रोग थियो। तर, कोरोनाको डरले भर्ना गर्न अस्पतालले मानेनन्।

    केही समयमा उनले आँखाको ज्योति गुमाइन् र उनको बच्चा पनि बाँचेन। संक्रमणको डरले विश्वमा कतिपय महिलाले अस्पताल जानेभन्दा घरमा नै सुत्केरी हुने निर्णय गरे। जुन निर्णय महिलाका लागि निकै कठिन थियो। हालै बंगलादेशको ढाकामा यस्तो घटना बाहिर आएको छ। यसबाट ग्रामीण महिलाहरुले सबैभन्दा बढी समस्याको सामना गर्नुपरेको छ। कोरोनाका कारण सरकारी अस्पतालमा ठाउँ या बेड उपलब्ध छैनन्। यतिसम्म कि सुत्केरीले स्थानीय तहमा पाउने उपचारसमेत पाउन सकेका छैनन्।

    संक्रमणको डरका कारण संसारका केही विशेषज्ञले केही समयका लागि गर्भवती नहुन सल्लाह दिइरहेका छन्। किनकि यस समयमा संक्रमणको डर त छ नै, त्यसमाथि पनि राम्रो उपचारसमेत पाइरहेका छैनन् भने यो समयमा जन्मिएका बच्चाहरू खोपबाट समेत वञ्चित छन्। एक अध्ययनअनुसार ९६ प्रतिशत कोरोना संक्रमित महिलामा निमोनियाका लक्षण पाइएका छन्। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले हालै अमेरिकामा कोरोना भाइरस संत्रमित गर्भवती महिलामाथि अनुसन्धान गरेको थियो।

    जसअनुसार ३१ प्रतिशत महिलाले कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनुपरेको छ। जसमध्ये १.५ प्रतिशतलाई आईसीयू र ०.५ प्रतिशतलाई भेन्टिलेटरमा राख्नुपरेको थियो। भारतमा ११ प्रतिशत गर्भवती महिलालाई आईसीयूमा राख्नुपरेको थियो। कोरोना भाइरसका कारण महिलाले महिना नपुग्दै बच्चा जन्माउनुपरिरहेको छ। कोरोना संक्रमण फैलिनुअघि ११.६ प्रतिशत महिलाले यसरी महिना नपुगी बच्चा जन्माउने गरेका थिए भने अब यो संख्या बढेर २६ प्रतिशत भएको छ।

    संक्रमित महिलाबाट जन्मिएका बच्चामा समेत कोरोनाको असर देखिइरहेको छ। जन्मको समयमा या त्यो भन्दा पनि सम्पर्कमा आउनाले कतिपय बच्चाहरू संक्रमित भइरहेका छन्। युनिसेफको रिपोर्ट अनुसार कोरोना संक्रमणको यो समयमा ११ करोड ६० लाख बच्चा जन्मिएका छन्। सामान्य रूपमा प्राकृतिक जन्म लिएका २.७ प्रतिशत बच्चामा कोरोना संक्रमण पाइएको छ भने शल्यक्रियाबाट जन्मिएका ५ प्रतिशत बच्चाहरूमा संक्रमण पाइएको थियो। यसको अर्थ करिब ८ प्रतिशत बच्चाहरू आमाका कारण कोरोना संक्रमित भएका छन्।

    कोरोना भाइरसको असर स्तनपानमा समेत देखिएको छ। संक्रमणको डरका कारण आमाहरूले बच्चालाई स्तनपानसमेत गराइरहेका छैनन्। यसको असर बच्चाको रोग प्रतिरोधात्मक क्षमतामा समेत पर्न सक्नेछ। यद्यपि सीडीसीले स्तनपान गराउँदा कुनै समस्या नहुने स्पष्ट पारेको छ। मिडिया रिपोर्टअनुसार कोरोनाकालमा जन्मिएका ८ प्रतिशत बच्चाहरू रेस्पिरेटरी डिजिजको शिकार भएका छन्। कोरोना भाइरस र लकडाउनका कारण महिलाहरू अनिच्छित गर्भको शिकार भएका छन्।

    राष्ट्रसंघीय जनसंख्या कोषको रिपोर्टअनुसार संसारभरमा ४ करोड ७० लाखभन्दा बढी महिला लकडाउनका कारण अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन्। भारतमा मात्रै २३ लाख महिलाले अनिच्छित गर्भधारण गरेका छन्। यसको कारण भनेको लकडाउनका कारण परिवार नियोजनका साधनहरूको अभाव हुनु नै हो। करिब २ करोड जोडीले लकडाउनका समयमा परिवार नियोजनका अस्थायी साधनको समस्या भोग्नुपरेको छ।

    छिमकी देश भारतमा मात्रै हरेक वर्ष १ करोड ५० लाखले गर्भपतन गराउँछन्। लकडाउनका कारण थप १४ लाख यस्ता घटना वृद्धि हुने अनुमान गरिएको छ। जसमध्ये ८ लाखभन्दा बढी असुरक्षित गर्भपतन हुनेछन् भने करिब १८ सय गर्भवतीले ज्यान गुमाउने अनुमान गरिएको छ। संसारभरमा मातृशिशु मृत्युदर करिब १७ प्रतिशत बढ्ने अनुमान छ। -एजेन्सी

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast