आईतवार, आषाढ २१, २०७७
    खेल संसार

    अन्तिमको गोलले बार्सिलोनालाई दियो धक्का, मेस्सीकाे ‘माइलस्टोन’ काे सपना अझै पुरा भएन

    आईतवार, १४ आषाढ २०७७, आहाखबर

    एजेन्सी। उपाधि होडमा रियल मड्रिडसँग अति कडा प्रतिस्पर्धामा रहेको बार्सिलोनालाई पुनः धक्का लागेको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग बराबरीमा रोकियो ।

    घरेलु मैदानमा भएको खेलमा इआगो आसपासको अन्तिम समयको गोलबाट सेल्टाले बार्सिलोनालाई २–२ को बराबरीमा रोकेको हो ।

    २० औँ मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले सुरुवाति अग्रता लियो । ५० औँ मिनेटमा फेडोर स्मोलोभले सेल्टाका लागि बराबरी गोल फर्काए ।

    ६७ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरि बार्सिलोनालाई पुनः अग्रता दिलाए । स्वारेजका दुवै गोलका लागि लियोनल मेस्सीले सहयोग गरेका हुन् ।

    तर ८८ औँ मिनेटमा आसपासले गोल गरी बार्सिलोनालाई खेलमा जित निकाल्न दिएनन् । बराबरीबाट सेल्टाले अंक खोसेपछि बार्सिलोना शीर्ष स्थानमा गए पनि एक खेल बढी खेलेर रियल मड्रिड भन्दा एक अंक मात्रै अघि रहेको छ ।

    आइतबार राति हुने खेलमा रियल मड्रिडले स्पानियोललाई पराजित गरेमा उसले दुई अंकको अग्रता कायम गर्ने छ । बार्सिलोनाको ३२ खेलबाट ६९ तथा रियल मड्रिडको ३१ खेलबाट ६८ अंक रहेको छ।

    मेस्सीले खेल जीवनको सात सयौँ गोल गर्नका लागि अब पनि कम्तिमा अर्को खेल पर्खिनु पर्ने भएको छ । उनले अर्जेन्टिना र बार्सिलोनाका लागि हालसम्म ६९९ गोल गरेका छन् । तर उनले बार्सिलोनाका लागि गोलका लागि सहयोगको संख्या २५० बनाएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast