शनिबार, आषाढ २७, २०७७
    स्कुल-कलेज

    एसईईको नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी

    शनिबार, १३ आषाढ २०७७, आहाखबर

    काठमाडाैं, १३ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । 

    कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो । 

    ‘मूल्याङ्कन गर्न बोर्डले कार्यविधि बनाइसकेको छ,’ परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘विद्यार्थीको मूल्याङ्कन विवरण छिटो आयो भने साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेका छौँ । साउनभित्रमा प्रमाणपत्र दिने भनिएको हो ।’

    ‘२० गतेभित्र विवरण पठाउनू’

    अहिलेसम्म विद्यालयले मूल्याङ्कन विवरण नपठाएको अध्यक्ष पौडेलले बताए । 

    ‘जिल्ला विकास तथा समन्वय इकाइलाई यो महिनाभित्र र विद्यालयलाई यही २० गतेभित्र विवरण पठाउन भनेका छौँ,’ उनले भने, ‘काठमाडौंकै विद्यालयले आजभोलि नै पठाए हुने । अहिलेसम्म पठाएका छैनन् । विद्यालयले जति छिटो पठाउँछन्, त्यति नै चाँडो नतिजा सार्वजनिक हुन्छ । विद्यालयले पठाउन ढिला गरे नजिता पनि ढिलै हुन्छ ।’

    बोर्डलाई डाटा इन्ट्री गर्न, रुजु गर्न र ग्रेड तयार गर्न समय लाग्ने भएकाले छिटो मूल्याङ्कन गरेर पठाउन उनले आग्रह गरे ।
     
    क्वारेन्टाइन भएका विद्यालयले के गर्ने ?

    झण्डै ४ हजार विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइन रहेका विद्यालयलाई मूल्याङ्कन गर्न समस्या भएको छ । 

    ‘४ हजार विद्यालयलाई क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइन बनाइएका विद्यालयमा छिर्न पाइँदैन । विद्यार्थीको रेकर्ड विद्यालयमा हुन्छ । प्रमुख जिल्ला अधिकारीलाई समन्वय गरेर फाइल झिकेर मूल्याङ्कन गरेर पठाउन आग्रह गरेका छौँ,’ उनले भने । यो वर्ष एसईईका ४ लाख ८२ हजार ७ सय ७ सय विद्यार्थी छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast