शनिबार, आषाढ २७, २०७७
    आर्थिक खबर

    ठमेलका व्यवसायीलाई घरबेटीले दिए भाडामा ५० प्रतिशत छुट

    मंगलवार, ९ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ९ असार । पर्यटकीय क्षेत्र ठमेलमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई घरबेटीले भाडामा ५० प्रतिशत छुट दिएका छन् । ठमेल क्षेत्रका करिब २ सय घरबेटीले ५० प्रतिशत रकम घर भाडामा छुट दिइसकेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताए ।

    व्यवसायीले १ वर्षसम्म घर भाडामा छुट दिन घरबेटीलाई आग्रह गरेकोमा ६ महिनासम्म छुट दिने सहमति भएको हो । ठमेल पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं सल्लाहकार रामशरण थपलियाले ४० देखि ६० प्रतिशतसम्म छुट दिन घरबेटी सकारात्मक रहेको बताए । “हामीले एक वर्षसम्मलाई छुट दिन आग्रह गरेका छौं । ६ महिनासम्मलाई ४० देखि ६० प्रतिशतसम्म छुट दिने घोषणा केही घरबेटीहरूले गर्नुभएको छ” उनले भने ।

    ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका ११ वटा व्यवसायी संस्थाहरूले एक वर्षसम्म घरभाडामा ५० प्रतिशत छुट दिन घरबेटीलाई आह्वान गरेका थिए । ५० प्रतिशत नै छुट दिने विषयमा औपचारिक रूपमा सहमति नभए पनि ७० प्रतिशत घरबेटी छुट दिन तयार रहेको उपाध्यक्ष शर्माले बताए ।

    “व्यवसायी र घरबेटीबीच भाडा छुट दिने विषयमा औपचारिक सहमति भइसकेको छैन तर ७० प्रतिशत घरबेटी ५० प्रतिशत भाडा छुट दिन तयार हुनुभएको छ,” उनले भने । तर, २ सय घरबेटीले भाडा छुट दिइसकेको उनले बताए ।

    पर्यटन क्षेत्रसँग सम्बन्धित करिब ५ हजार व्यवसाय ठमेल क्षेत्रमा रहेको अनुमान गरिएको छ । ठमेल क्षेत्रमा न्यूनतम ५० हजारदेखि ५ लाखसम्म मासिक भाडा तिर्दै आएको थपलियाले बताए । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast