शनिबार, आषाढ २७, २०७७
    ओएमजी Omg!

    अब काठमाडाैमा कुकुर पाल्न अनुमति लिएर कर तिर्नु पर्ने

    सोमबार, ८ आषाढ २०७७, आहाखबर

    काठमाडाैं, ८ असार । भित्र कुकर पाल्नका लागि अब अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको काठमाडाैं महानगरपालिकाले जनाएको छ। रहरका लागि कुकुर पाल्ने तर जनावर बिरामी भएपछि अलपत्र छाड्ने क्रम बढेका कारण नयाँ नियम ल्याउने तयारी गरिएको महानगरको तर्क छ।

    सडक लगायतका सार्वजनिक स्थलमा दिसापिसाब गराउने र फोहोर त्यसै छाड्ने चलन ठूलो समस्या बन्दै गएको अधिकारीहरू बताउँछन्। महानगरपालिकाले आगामी आर्थिक वर्षका बजेटमा सो योजना प्रस्ताव गरेको र पारित भएर साउन महिनाबाट कार्यान्वयनमा ल्याउने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ।

    महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार कर लिएपछि महानगरले सेवा पनि दिने छ। उनले भने, "के कति कर लिने भन्ने विषय बजेटमा आउला। तर हामीले कर लिने मात्रै नभएर सेवा पनि दिने योजना बनाएका छौँ।" "घरमै गएर खोप लगाउने र बन्ध्याकरण गराउने काम पनि हामीले गरिदिने योजना छ।" हाल महानगरले समुदायमा रहेका कुकुरलाई हेरचाह गरिरहेको उनले दाबी गरे।

    जीपीएस ट्रयाकर पनि

    घरपालुवा कुकुरलाई अलपत्र छाड्ने अवस्थाको अन्त गर्न महानगरपालिकाले घाँटीमा जीपीएस ट्रयाकरको पनि व्यवस्था गरिने बताएको छ। जीपीएस ट्रयारका आधारमा कुकुर पालेका व्यक्ति लगायतका विवरण उपलब्ध हुने हुँदा अलपत्र छोडिने अवस्थामा सुधार हुने महानगरको अपेक्षा छ।

    डङ्गोलका अनुसार काठमाडाैं महानगरपालिकामा सामुदायमा करिब २४,००० कुकुर छन्। घरपालुवा कुकुरको सङ्ख्या भने १०,००० हजारको हाराहारीमा हुने अनुमान गरिएको छ। काठमाण्डूका ३२ वटा वडामा सातदेखि आठ लाख स्थायी बासिन्दा रहेको महानगरको भनाइ छ। कुकुर पाल्ने अनुमति वडाबाटै दिने वा महानगरपालिकाले भन्ने विषयको निर्क्यौल भइनसकेको डङ्गोलले बताए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast