सोमबार, आषाढ २२, २०७७
    सावधान

    पोलबाट खसेर कञ्चनपुरमा मजदूरको मृत्यु

    बिहिवार, ४ आषाढ २०७७, आहाखबर

    कञ्चनपुर, ४ असार। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा विद्युत् विस्तारका क्रममा एक मजदूरको मृत्यु भएको छ । नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युत्को पोल(खम्बा) बाट खसेर मृत्यु भएको हो । मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको छ ।

    विद्युत्का तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको छ । यो क्षेत्रमा पहिलोपटक विद्युत् लाइन विस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भई रहेको बताए।

    “खम्बाबाट खसेर मृत्यु भएको हो । घर परिवारलाई जानकारी दिइएको छ”, उनले भने, “के कसरी भएको हो, त्यसको अनुसन्धान गर्दैछौँ ।” लुहारका श्रीमती र एक छोरी छन् । लुहारका आफन्त मदनसिंह सेरालाले घटनाको सत्य तथ्य जाँच गरी लुहार परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे। खल्ला जिल्लाकै दुर्गम ठाउँ भएकाले बुधबारमात्रै घटनाबारे जानकारी हुन सकेको हो ।

    विद्युत जडानका लागि प्रयोग गरिने सुरक्षाका आधुनिक सामाग्रीहरु प्रयोग नगर्नु, पुरानै सामाग्री प्रयोग गर्नु र नयाँ प्रविधिबारे प्राधिकरणले ध्यान नदिनु, सुरक्षामा कर्मचारीहरुलाई दक्ष नबनाइनु नै प्रबिधिकहरुको मृत्यु हुने गरेको बुझिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast