सोमबार, आषाढ २२, २०७७
    राज्य-समाज

    राष्ट्रियसभाबाट पनि पारित हुँदै निशान छाप

    बिहिवार, ४ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ४ असार। सरकारले संविधानको निशान छापमा रहेको नक्सा परिर्वतनका लागि दर्ता गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७’ राष्ट्रियसभाबाट पारित हुँदै छ।

    राष्ट्रियसभामा आज दफावार छलफल हुँदै विधेयक पारित हुने कार्यसुची रहेको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

    यसअघि उक्त विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको थियो। मतदानमा उपस्थित २ सय ५८ जनाले नै विधेयकको पक्षमा मतदान गरेका थिए।

    नेपालको भू-भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समावेश भएको चुच्चे नक्सालाई आधिकारिक बनाउन सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो।

    बिहीबारको बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्। यसअघि नै संशोधन र विचार गरियोस् भन्ने प्रस्ताव पेश भइसकेको छ।

    राष्ट्रियसभाले पनि संशोधनका लागि ७२ घन्टे समय दिएको थियो। उक्त अवधिमा कुनै पनि संशोधन प्रस्ताव दर्ता नभएकाले अब सिधै छलफलमा प्रवेश गर्ने छ। छलफलमा सबै पार्टीका सांसदहरुले भाग लिने छन्। 

    सांसदहरुले संविधान संशोधन प्रस्तावमाथि आफ्नो धारणा राखेपछि त्यहाँ उठेको प्रश्नहरुको जवाफ पुन कानुनमनत्री तुम्वाहाङफेले जवाफ दिने छिन्। उनको जवाफपछि राष्ट्रियसभा विधेयक पारित गर्ने दोस्रो कार्यसूचीमा प्रवेश गर्ने छ।

    प्रतिनिधिसभामा झैं राष्ट्रियसभामा पनि विधेयकमाथि मतदान हुने छ। संशोधनको पक्ष र विपक्षमा रहेकाहरुलाई अलगअलग हस्ताक्षर संकलन गर्दै यसलाई मतदान गरिन्छ।

    राष्ट्रियसभाका कुल सदस्यको दुईतिहाइले संशोधनको पक्षमा मतदान गरेरमा यसलाई पारित गरिन्छ। संविधान संशोधनमा कुनै पनि दल विपक्षमा नभएकाले राष्ट्रियसभाबाट संशोधन विधेयक सर्वसम्मतीले पारित हुने निश्चित जस्तै छ।

    यसरी संघीय संसदको दुवै सदनबाट पारित भएको विधेयकलाई प्रतिनिधिसभाका सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउने छन्। प्रमाणीकरण हुँदै राजपत्रमा प्रकाशित भएपछि संविधान संशोधनको औपचारिक प्रक्रिया पूरा हुनेछ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast