सोमबार, आषाढ २२, २०७७
    स्वास्थ्य

    हिमाली जिल्ला मनाङमा पनि भेटियाे कोरोनाकाे संक्रमण

    बिहिवार, ४ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ४ असार । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार ती संक्रमित ५७ वर्षीय व्यक्तिको स्थायी ठेगाना भने कपिलवस्तुको बाणगंगा नगरपालिका १४  हो। यस्तै, गण्डकी प्रदेशका अन्य तीन जिल्लामा आज थप ४१ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा १८,  तनहुँमा १२ र गोरखामा ११ जनामा संक्रमण पुष्टि भएको हो। 

    नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाका १५, गैंडाकोटका १, तनहुँको ऋषिङ गाउँपालिकाका ७, शुक्लागण्डकी नगरपालिकाका १, भानु नगरपालिकाका ४, गोरखाको पालुङटार नगरपालिकाका ७ र शहीद लखन नगरपालिकाका ४ जनामा संक्रमण देखिएको हो।

    गोरखाको पालुङटारकी एक महिलाबाहेक अन्य सबै ४१ जना पुरुष हुन्। ४१ जना संक्रमित नै केही समयअघि भारतबाट फर्किएर स्थानीय तहले बनाएको क्‍वारेन्टाइनमा बसिरहेका थिए। उनीहरूलाई जिल्लामा रहेका आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast