सोमबार, आषाढ २२, २०७७
    स्वास्थ्य

    बुधवार मात्र ५८६ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

    बुधबार, ३ आषाढ २०७७, आहाखबर

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा एकैदिन कोरोना सङ्क्रमण पुष्टि हुनेको यो संख्या हालसम्मकै उच्च हो। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार ४० जना महिला र ५४६ जना पुरुष गरी ५८६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

    सङ्क्रमित हुनेमा उदयपुरका ४, सिराहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौतहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन्।

    योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ७ हजार १७७ पुगेको छ। जसमध्ये ५३९ जना महिला र ६ हजार ६३८ जना पुरुष छन्। नेपालमा कोरोना सङ्क्रमणलाई जितेर पछिल्लो २४ घण्टामा जना ९ जना डिस्चार्ज भएका छन्। महेन्द्र गेनाइ अस्पताल सिराहाबाट ६ जना, नारायणी अस्पताल वीरगन्जबाट रौतहटका २ जना र पर्साका १ जना डिस्चार्ज भएका हुन्। यो सँगै निको हुनेको संख्या १ हजार १६७ पुगेको छ।

    कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो

    बाँके बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। प्रवक्ता डा. गौतमले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको मृत्यु भएको र पीसीआर परीक्षणका क्रममा उनमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

    उनलाई जेठ ३० मा मिर्गौलासम्बन्धी समस्या कारणले अस्पताल भर्ना भएकी र १ असारमा कोरोना परीक्षणका लागि भेरी अस्पतालको प्रयोगशालामा नमुना पठाइएको थियो। रिपोर्ट नआउँदै असार १ साँझ ६ बजे उनको अस्पतालमा मृत्यु भएको थियो। हिजो आएको रिपोर्टमा उनमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए। योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast