आईतवार, आषाढ २१, २०७७
    राज्य-समाज

    कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    बुधबार, २१ जेष्ठ २०७७, आहाखबर

    सुर्खेत, २१ जेठ ।  कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशनको आठौँ बैठकले मंगलबार सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम पारितका लागि प्रदेशसभा बैठकमा पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

    सरकारको नीति तथा कार्यक्रममा भने प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संशोधन प्रस्ताव पेश गरेका थिए ।

    सभामुख राजबहादुर शाहीले नेता शाहीलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गरे । नेता शाहीले उक्त संशोधन प्रस्ताव फिर्ता नलिने घोषणा गरेका थिए । संशोधनका सो प्रस्तावलाई बैठकमा सत्ता पक्षका सदस्यहरुको बहुमतले अस्वीकृत गरेको थियो ।

    प्रतिपक्षी दलले प्रदेशसभामा संशोधन प्रस्ताव फिर्ता नलिए पनि प्रदेशसभा सदस्यहरुको बहुमतले प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महामारी र भोकमरीबाट जनतालाई बचाउन प्रदेश सरकार केन्द्रित रहेको बताए ।

    प्रदेशसभाको छैटौँ अधिवेशनको आठौँ बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री शाहीले नीति तथा कार्यक्रममा व्यक्त प्रतिबद्धतालाई बजेटमार्फत पूरा गरिने विश्वास व्यक्त गरे ।

    प्रदेश सरकारले कोष खडा गरेर क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहलाई जिम्मेवार बनाइएको उनले बताए । क्वारेन्टिन व्यवस्थापनपछि परीक्षण नै मुख्य समस्या रहेको उनको भनाइ छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast