आईतवार, आषाढ २१, २०७७
    स्वास्थ्य

    नेपालमा ६ दिनमा १ हजार जनामा कोरोना पुष्टि, कहाँ कति सङ्क्रमित ?

    सोमबार, १९ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा दुई सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। एक दिनमा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या आजसम्मकै धेरै हो।

    लगातार एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएको सोमवार छैटौं दिन हो। गएको छ दिनमा मात्र एक हजार २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सोमबार नयाँ थपिएका सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ।

    सोमबार सङ्क्रमित पुष्टि हुनेमा ११ महिने शिशु समेत छन्। सबैभन्दा बढी दैलेखमा ४० जनामा सङ्क्रमण पुष्टि भएको छ। प्रवक्ता देवकोटाका अनुसार अनुसार विराटनगरको कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २ जनामा कोरोना सङ्क्रमण भेटिएको छ। छ। यसै गरी पोखराको क्षेत्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनीहरू तीनै जना नवलपरासी पूर्वका हुन्।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही प्रयोगशालामा जुम्लामा १९ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। सुर्खेतका प्रयोगशालामा गरिएको प्रयोगशालामा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ जना गरी ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। काभ्रेको धुलिखेल अस्पताल प्रयोगशालामा रौतहटका १८ र कपिलवस्तुका २ जनामा गरी २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    बाँकेको भेरी अस्पतालमा परीक्षण गर्दा बाँकेका ७ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ। यसै गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दाङकै हुन्।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ। उनीहरूमध्ये धनुषाका ७ कपिलवस्तुका ३८ जना छन्। यस्तै महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिराहाका ५ र उदयपुरका १ जनामा समेत कोरोना पोजेटिभ आएको छ। यस्तै सेती अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। उनीहरू कैलालीका १४, अछामका १, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जना छन्।

    कुन प्रदेशमा कति ?

    अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत रहेका छन्। यस्तै, प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले बताए।

    हालसम्म नेपालमा कोरोना सङ्क्रमण भएका २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन्। अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार ९ सय ३ र आरडिटी विधिबाट १ लाख १३ हजार ७ सय ५७ जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडिटी २ हजार ६ सय ४८ जनाको नमुना परीक्षण भएको छ। देशभरि क्वारेनटाइनमा १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेनटाइनमा रहेका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast