आईतवार, आषाढ २१, २०७७
    बिदेश

    अफ्रिकी मूलका प्रदर्शनकारीमाथि अमेरिकामा ट्रक चलाइयो

    सोमबार, १९ जेष्ठ २०७७, आहाखबर

    एजेन्सी । अमेरिकाको मिनेशोटा राज्यमा अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लाइडको मृत्युलाई लिएर भइरहेको प्रदर्शनमा एक चालकले ट्रक चलाएका छन् । 

    मिनेशोटाको मिनियापोलिसमा गत साता अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लाइडको प्रहरीले घाँटी थिचेका कारण मृत्यु भएपछि प्रदर्शन जारी छ । 

    चालकले १८ चक्के ट्रक प्रदर्शनकारीको भिडमा चलाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । मिनियापोलिसको अन्तरराज्य राजमार्ग ३५ वेष्टमा यो घटना भएको हो । 

    ड्राइभरले ट्रक चलाए पनि प्रदर्शनकारी भागेर जोगिन सफल भएका छन् । प्रदर्शनकारीको भीडमा ट्रक चलाउने ती चालकलाई प्रदर्शनकारीले तत्काल रोकेर ट्रकबाट बाहिर निकालेर कुटपिट गरेका थिए । 

     

     

     

     

    त्यसलगत्तै प्रहरीले प्रदर्शनकारीलाई पछि धकेलेको थियो । मिनियापोलिसमा गत सोमबार अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको हत्याको विरोधमा भइरहेको प्रदर्शनले हिंसात्मक रुप लिँदै गएको छ । 

    विभिन्न राज्यमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएका छन् भने केही स्थानमा लुटपाट तथा आगजनीका घटना समेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि विभिन्न राज्यमा निषेधाज्ञा जारी गरिएपनि कतिपय स्थानमा निषेधाज्ञा तोडेर समेत प्रदर्शन भएको छ । 

    फ्लोइडको हत्या आरोपमा मिनियापोलस प्रहरीका एक पूर्व अधिकारीलाई पक्राउ गरी अभियोग दर्ता भइसकेको छ । गत सोमबार उनले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा उनको घाँटीमा घुँडाले थिचेका थिए ।

    फ्लोइडले ‘मलाई सास फेर्न गाह्रो भयो, मलाई नमार्नुहोस्’ भन्दा पनि ती प्रहरी अधिकारीले घाँटीबाट घुँडा हटाएका थिएनन् । प्रहरी नियन्त्रणमा नै उनको मृत्यु भएको हो । 

    प्रहरीले उनको घाँटी थिचेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मिनेशोटाको मिनियापोलस प्रहरीले चार अधिकारीलाई बर्खास्त गरेको थियो ।

    बर्खास्त गरिएका मध्ये फ्लोइडको घाँटी घुँडाले थिच्ने प्रहरी अधिकारी ४४ वर्षीय डेरेक चौभन पक्राउ परेका छन् । 

    यसैबिच फ्लोइडको परिवारको तर्फबाट वकालत गरिरहेका एक वकिलले प्रहरी अधिकारीले पूर्वनियोजित रुपमा फ्लोइडको हत्या गरेको बताएका छन् । 

    चौभनमाथि ‘थर्ड–डिग्री मडर’ को अभियोग दर्ता भएको छ । तर फ्लोइड परिवारका वकिल बेन्जामिन क्रुम्पले उनले पूर्वनियोजित रुपमा हत्या गरेको भन्दै ‘फस्ट–डिग्री मर्डर’ को अभियोग अनुसार कारवाही प्रक्रिया अघि बढ्नु पर्ने बताएका हुन् ।

    यता जर्ज फ्लोइडको मृत्युको घटनालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी तथा सल्लाहकारहरुबीच तीव्र मतभेद देखापरेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast