आईतवार, आषाढ २१, २०७७
    बिदेश

    चीनसँगको सीमा विवादका कारण मोदीको मुड ठीक छैन: डोनाल्ड ट्रम्प

    शुक्रबार, १६ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन–भारत तनावमा मध्यस्थता गर्न चाहेको बताएका छन् । उनले चीनसँग जारी तनावका विषयमा आफूले कुराकानी गरेको र सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् । 

    उनले भनेका छन्, ‘दुवै देशलाई केही मद्दत चाहिन्छ भने म त्यसका लागि तयार छु ।’ उनले यो घटनालाई लिएर भारत खुसी नरहेको भन्दै सायद चीनपनि पूरै घटनामा खुसी नरहेको हुनसक्ने बताए । 

    ओभलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर भारतका प्रधानमन्त्री मोदीको मुड ठीक नरहेको रहेको र दुई देशबीच तनावको अवस्था सिर्जना भएको बताए । 

    एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘म तपाईहरुको प्रधानमन्त्रीको प्रशंसक हुँ, उहाँ धेरै राम्रो मान्छे हो । दुई देशबीच तनावको अवस्था सिर्जना भएको छ । दुवै देशमा एक एक अरब ४०–४० करोड हाराहारी जनसंख्या छ र दुवैसँग मजबुत सेना छ । मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिए । चीनसँग जे भइरहेको छ त्यसका लागि उहाँको मुड ठीक छैन ।’

    गएको बुधबार ट्रम्पले ट्विटमार्फत चीन र भारतको सीमा विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए । 

    यसबारे चीनले कुनै प्रतिक्रिया जनाएको छैन भने भारतले कुटनीतिक तवरबाट समाधान खोजिने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘हामी समस्याको शान्तिपूर्ण समाधानका लागि सम्पर्कमा छौं ।’ 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast