सोमबार, आषाढ २९, २०७७
    बिदेश

    चीनका राष्ट्रपति सीले दिए जनमुक्ति सेनालाई युद्धको तयारी गर्न निर्देशन

    बुधबार, १४ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, १४ जेठ। चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् ।

    जनमुक्ति सेना र जनमुक्ति सशस्त्र बलका प्रतिनिधिसँगको छलफलका क्रममा उनले सो निर्देशन दिएका हुन् । करिब २० लाख सैनिक रहेको चिनियाँ जनमुक्ति सेना वर्तमान विश्वको सबैभन्दा ठूलो सैनिक संगठन हो । 

    चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार जिनपिङले सेनालाई सबैभन्दा खराब अवस्थाको कल्पना गर्दै युद्धका लागि आफ्नो प्रशिक्षण र तयारीमा तिव्रता ल्याउन तथा हरेक कठिनाईलाई प्रभावकारी ढंगले नियन्त्रणमा लिन निर्देशन दिएका हुन् । 

    चीन र अमेरिकाबीच कोरोना संक्रमणलाई लिएर तथा चीन र भारतबीच पछिल्लो समयमा सीमा क्षेत्रमा बढ्दो तनाव, ताइवानसँग अमेरिकी निकटता र दक्षिण चीन सागरमाथि खडा गरिएको विवादबीच उनको यस्तो भनाई बाहिर आएको हो । 


    भारतसँग सीमा विवाद बढ्दै जाँदा चीनले लद्दाखको पेंगोंग क्षेत्र र सिक्किमको नाथु–ला क्षेत्रमा सैनिक उपस्थिति बढाएको छ । 

    मंगलबारमात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा सल्लाहकार अजित डोभाल, चीन अफ डिसेन्स स्टाफ जनरल विपिन रावत तथा तीन वटै सेनाका प्रमुखसँग बैठक गरेका छन् ।

    बैठकमा रक्षामन्त्री राजनाथ सिंह समेत सहभागी थिए । त्यसअघि रक्षामन्त्री सिंहले तीन वटै सेनाका प्रमुखसँग बैठक गरेर अवस्थाबारे जानकारी लिएका थिए । 

    रक्षामन्त्री सिंहले लद्दाख, सिक्किम, उत्तराखण्ड या अरुणाञ्चल प्रदेशमा वास्तविक नियन्त्रण रेखाको नजिक सञ्चालनमा रहेका परियोजना कार्यान्वयनको कुनै समीक्षा आवश्यक नरहेको बताएका थिए । 

    भारतले सबै क्षेत्रमा चीनको बराबर सैनिक उपस्थिति बढाउने तयारी गरिरहेको छ । भारत र चीनका सैन्य कमाण्डरबीच २२ र २३ मेमा कुराकानी भएपनि कुनै सकारात्मक परिणाम ननिस्किएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

    चीनले गलवान नदीको आसपास भारतले सडक निर्माण गरिरहेकोमा आपत्ति जनाएको छ । चीनले आपत्ति जनाएपछि भारतले सो क्षेत्रमा सडक निर्माण रोकेको छ । ५ मेमा भारत र चीनका करिब २५० जना सैनिकबीच डन्डी र छडसहित भएको झडपमा दुवैतर्फका सैनिक घाइते भएका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast