सोमबार, आषाढ २२, २०७७
    स्वास्थ्य

    नारायणी अस्पताल बन्याे सङ्क्रमितमुक्त, दुई पत्रकारसहित ४३ जना डिस्चार्ज

    मंगलवार, १३ जेष्ठ २०७७, आहाखबर

    पर्सा, १३ जेठ। काेरोना सङ्क्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ७० जना डिस्चार्ज भएका छन् । सबै सङ्क्रमित कोरोनामुक्त भई सोमवार डिस्चार्ज भएपछि अस्पताल सङ्क्रमितविहीन बनेकाे छ ।

    पछिल्लो शनिवार, आइतवार र सोमवार गरी तीन दिनमा ७० जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएपछि वीरगञ्जको नारायणी अस्पताल कोरोना सङ्क्रमितमुक्त बनेको हो ।

    सोमवार पर्साका दुई जना पत्रकारसहित पर्साका ४२ जना र एक जना सर्लाहीका सङ्क्रमित गरी ४३ जना कोरोना सङ्क्रमितलाई सोमवार साँझ डिस्चार्ज गरी घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले  बताए ।

    सबै सङ्क्रमितको पछिल्लो दुई रिपाेर्ट नेगेटिभ आएपछि ४३ जना सङ्क्रमितलाई सोमवार डिस्चार्ज गरिएको हो । त्यस्तै, आइतवार राति ११ बजे एकै परिवारका १८ जना सङ्क्रमित कोरोनामुक्त भई डिस्चार्ज गरिएको थियो भने शनिवार नाै जना कोरोनामुक्त भई डिस्चार्ज भएका थिए । यसरी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै सङ्क्रमित डिस्चार्ज भएपछि अस्पतालको आइसोलेसन वार्ड खाली भएको छ ।

    वीरगञ्जकै गण्डक अस्पतालमा बनाइएको अस्थायी कोरोना अस्पतालमा २७ जना सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररत २७ जना सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक निरज कुमार सिंहले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast