सोमबार, आषाढ २२, २०७७
    राज्य-समाज

    निरोगी बन्न प्रधानमन्त्री ओलीका यस्ता छन् पाँच सुझाव

    सोमबार, १२ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट जोगिन आनीबानी र आहार-विहारमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु भएको बताए।

    उनले भनेका छन्, 'महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार-विहारमा आवश्यक सतर्कता अपनाउनु हो। हालसम्मका उपायहरू हुन्- भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता वृद्धि गर्ने।'

    प्रधानमन्त्री ओलीले हामीले खाने खाद्यान्नमा औषधीजन्य वस्तु भएको पनि बताए। उनले भनेका छन्, 'हुने खाने हुन् वा हुँदा खानेको, अचारको रूपमा होस् वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्त्वहरूमा किन समानता पाइन्छ ? किनकि त्यसमा औषधीय तत्त्व छ। हाम्रा पूर्वजहरूले हजारौँ वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्त्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पुर्‍याइरहेका छन्।'

    प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माणका लागि पाँच उपाय अपनाउन आग्रह पनि गरेका छन्। यस्ता छन् प्रधानमन्त्री ओलीका निरोगी बन्ने पाँच सुझावः

    • पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं।
    • दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौँ। शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ।
    • तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र वासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऊँ।
    • चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ।
    • पाँचौँ, उच्च मनोबल कायम राखौं। भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधिका विरुद्धको लडाइँमा कमजोर तुल्याउँछ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast