आईतवार, आषाढ २१, २०७७
    कला-सौन्दर्य

    चर्काे विवादपछि नायिका वर्षा राउतले मागिन् माफि

    सोमबार, १२ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, १२ जेठ । नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले अतिक्रमण गरेको विषयमा विचार नपु¥याई बोल्दा अभिनेत्री वर्षा राउत नराम्रोसँग विवादमा तानिएकी छन् । सम्पूर्ण नेपालीले अतिक्रमणको विरोध गरिरहेका बेला उनले एउटा भिडियो अन्तर्वार्तामा आफ्ना भारतीय साथी रिसाउँछन् भन्दै त्यो विषयमा मिडियाले बोल्नु नहुने अभिव्यक्ति दिएकी थिइन् ।

    ‘देशको माया लाग्छ भन्दैमा तिमीहरूले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा हैन नि त । यो त टेबुल टक गरेर उताको गभर्मेन्ट र यताको गभर्मेन्ट मिलेर पो कुरा गर्ने हो नि त । यहाँ त झगडा पारिरहेका छन् क्या दुईटै जर्नालिस्ट मेलर । दुवैजनाको जर्नालिस्ट मिलेर झगडा बनाइरहेका छन् क्या । अब मेरो इन्डियन फ्रेन्डसँग म कसरी फेस गर्ने अनि इन्डियन फ्रेन्डले मसँग कसरी फेस गर्ने भैराछ क्या अहिलेको सिचुएसन चैं’ भिडियोमा उनले भनेकी छन् ।

    लकडाउनको बेला घरमा बसेकी अभिनेत्री वर्षाले दुई देशका मिडियाका कारण आफूलाई भारतीय साथीसँग मुख देखाउन गाह्रो भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले यो विषयमा मिडियाले तर्क वितर्क गर्नु नहुने र सरकारले मात्र टेबुलटक गर्नु पर्ने धारणा राखेकी छन् ।

    मुलुकको भूमि खेसिनुभन्दा उनलाई भारतीय साथी रिसाउने चिन्ता भएको भन्दै सामाजिक सञ्जालमा निकै विरोध भएपछि आत्मआलोचना गर्दै उनले फेसबुकमार्फत माफी मागेकी छन् ।

    सामाजिक सञ्जाल प्रयोगकर्ता यतिसम्म आक्रोशित भए कि भारतलाई लिपुलेक फिर्ता दिएर वर्षालाई भारत लैजान भनिरहेका छन् । मनीषा कोइरालाको पक्षमा स्टाटस लेख्दा उनका भारतीय साथी किन रिसाएनन् भन्ने प्रश्न पनि दर्शकले गरेका छन् ।

    आलोचित भएपछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाटै स्पष्टीकरण दिएकी छन् । उनको स्पष्टीकरण छ, ‘कलाकार हुँ, त्यसमाथि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, एउटा अन्तर्वार्ता लिएर जुन हो–हल्ला गरियो । यसले मलाई भावनात्मक ठेस पुगेको छ । प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला । बोल्दै जाँदा जिब्रो चिप्लियो होला । तर, मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन । अलिकति पनि तलमाथि परेकी छैन ।’

    आफू नेपाली भएकोमा गर्व गर्दै वर्षाले लेखेकी छन्, ‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ म त्यसको समर्थनमा अग्रपंक्तिमा उभिन तयार छु । तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन । हामी सबै नेपालीसँगै उभिएर समर्थन गर्नुपर्छ । वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ । सत्य र तथ्यको समर्थन गर्नुपर्छ । दुई छिमेकीको प्रगाढ सम्बन्धको समर्थन गर्नुपर्ने हुन्छ । हाम्रो रोटी र बेटीको सम्बन्धको पनि समर्थन गर्न आवश्यक छ ।’

    उनले यस्तो समयमा केही भड्काउ व्यक्तिहरूले आक्रामण गर्न सक्ने भन्दै सचेत पनि गराएकी छन् ।

    वर्षालाई ढाडस दिँदै उनका सहकर्मी केही कलाकारहरूले उनको आत्मआलोचनाको विषयमा स्टाटस लेखेका छन् । अभिनेता दीपकराज गिरी लेख्छन्, ‘राष्ट्रियताको विषय एकदमै संवेदनशील विषय हो । यस्तो विषयमा टिप्पणी गर्दा सचेत हुनुपर्छ । पूरै भिडियो हेर्दा तिम्रो नियत खराब देखिन्न तर शब्द चयनमा त्रुटि भएकै हो तर यो आत्म आलोचनाले सबै कुरा ठीक गरिदिन्छ किनकि गल्ती मानिसबाटै हुन्छ । तिम्रो राष्ट्रप्रेमको भावनाप्रति शंका छैन जवाफ शैली अपरिपक्व भएको हो । यसलाई भुलौं अगाडि बढौं । जय मातृभूमि नेपाल ।’ 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast