सोमबार, आषाढ २२, २०७७
    राज्य-समाज

    संघीय संसद र सांसदको लोगो नयाँ नक्साअनुसार परिमार्जन गर्ने निर्णय

    आईतवार, ११ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। संघीय संसद्को प्रतिकका रूपमा रहेको लोगो परिवर्तन गरिने भएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकले संघीय संसद्को प्रतीकचिह्न (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दै आएका प्रतीकचिह्नलाई नेपालको अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो।

    सरकारले नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर पूर्ण नक्शा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्शा परिवर्तन गर्नुपर्ने भएकाले समितिले उक्त निर्णय गरेको हो। बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिएको छ।

    यसअघि आज बिहान बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिले पनि यस्तै निर्णय गरेको थियो। संघीय संसद्का दुवै सदनमा सांसदहरूले प्रयोग गर्दै आएको लोगोमा एकरूपता ल्याउनका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय गरेको थियो। सरकारले गत बुधवार नेपालको नयाँ पूर्ण नक्सा जारी गरेको थियो। नेपालको पूर्ण नक्शा राजपत्रमा प्रकाशित भइसकेको छ।

    मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको थियो। उक्त प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast