शनिबार, जेष्ठ २४, २०७७
    राज्य-समाज

    नेकपा सचिवालय बैठकमा एमसीसीबारे छलफल, प्रधानमन्त्री ओली अनुपस्थित

    शनिबार, १० जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको छ। बैठकमा संविधान संशोधनको गृहकार्य, हालै जारी गरिएको नयाँ नक्सापछिको राजनीतिक अवस्था, आगामी आर्थिक वर्षको बजेटलगायत सममायिक विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    शनिबार बालुवाटारमा बसेको सचिवालयको अनौपचारिक बैठकमा बिशेष गरी एमसीसीको विषयमा छलफल भएको हो। सरकारको नीति तथा कार्यक्रमको २११ नम्बर बुँदामा लप्सिफेदी–रातमाटे–हेटौँडा, लप्सिफेदी–रातमाटे–दमौली–बुटवलको ट्रान्समिसन लाइन बनाउने विषय उल्लेख भएपछि केही समय सुस्ताएको एमसीसीको विषय पुनः उठेको हो।

    नेकपाको उक्त अनौपचारिक बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागि भएनन्। बैठकमा एमसीसी अध्ययन कार्यदलका तर्फबाट पार्टीका स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आआफ्ना भनाइ राखेको प्रवक्ता श्रेष्ठले बताए। नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी अध्ययनका लागि कार्यदल बनाएको थियो।

    प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार छलफलमा आवश्यक परामर्श गर्नका लागि रावल, ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई बेलाइएको थियो। एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग हो कि होइन भन्ने चर्को विवादबीच गत माघमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा गठन भएको कार्यदलले एमसीसी यथास्थितिमा पास गर्न नहुने सुझाब दिएको थियो। कार्यदलले यथास्थितिमा एमसीसी पास गर्न नहुने सुझाब दिए पनि परराष्ट्रयमन्त्रीसमेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले भने १५ बुँदे फरक मत राखेका थिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast