मंगलवार, आषाढ २३, २०७७
    राज्य-समाज

    नयाँ नक्सालाई संविधानको अंग बनाउन अलमल नगरी पारित गरौंः गगन थापा

    शनिबार, १० जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव  द्रुतगतिमा पारित गर्न माग गरेका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा संविधानको अंग बनाउन द्रुतगतिमा पारित गर्न मागरेका हुन्।

    ‘नेपालको संविधानको धारा ९ को उपधारा (२) संग सम्बन्धित अनुसूची ३ मा नेपालको परिवर्तित नक्सासहितको नेपालको निशान छाप समावेश गर्न सरकारले संसदमा संसोधन प्रस्ताव दर्ता गरेको छ’, थापाले भनेका छन्, ‘राष्ट्रिय प्रतिवद्धताको विषय भएकोले द्रुतगतिमा सर्वसम्मत  रुपमा यस प्रस्तावलाई पारित गरौं।’

    शुक्रबारको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गर्ने निर्णय गरेलगत्तै संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने नेता थापाले बताएका छन्। नेपालको परिवर्तित नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाईंमा एउटा महत्वपूर्ण अध्यायको सुरुवात हुने उनको भनाइ छ।

    उनले समाजिक सञ्चालमा लेखेका छन्,‘यतिखेर भारतले नेपाली भू–भागमा उपस्थितिसंगै नियन्त्रण राखेको अवस्था छ। अबको बाटो भनेको हामीले हाम्रो भू–भागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण स्थापित गर्ने हो। नेपालको आन्तरिक विषय तथा मामिलामा हाम्रा बीचमा विभिन्न मतभेद थिए, छन र भोलि पनि हुनेछन्।’

    उनले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, र स्वनिर्णयको विषयमा हामीबीच मतभेद हुनुहुँदैन भनेर चर्चा भएको सम्झदै संघीय गणतान्त्रिक नेपालको राजनीतिक इतिहासमा पहिलो पटक, हामी सबै सशक्त रुपमा, आपसी मतभेदलाई पाखा लगाएर, राष्ट्रिय स्वाभिमानको खातिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा, एक ढिक्का भएर उभिएको उनको भनाइ छ। नेता थापाले संकल्पले नक्सा प्रकाशन गर्दा देखिएको एकता, यस उप्रान्त हुन पर्ने वा गर्नु पर्ने कूटनीतिक पहल कदमीमा समेत हामी सबै राष्ट्रिय रुपमा एकबद्ध भएको बताएका छन्।

    ‘नेपाली स्वाभिमानको विषयमा बनेको यस राष्ट्रिय एकताले नेपाली भू–भागमा नेपाली सार्वभौम शक्ति स्थापित नभएसम्म थप वलियो ढङ्गले निरन्तरता पाउन जरूरी छ’, उनले भने, ‘यस सन्दर्भमा नेपालले लिने कूटनीतिक बाटो तथा पहलहरुमा हामी–हामीबीच कार्यगत स्पष्टता ल्याउन आपसी रुपमा विविध प्रयास तथा अभ्यास हुन आवश्यक छ। यसले अहिले बनेको राष्ट्रिय एकतालाई अझ सुदृढ तथा दिगो गर्न मद्दत गर्नेछ।’

    उनले अगाडि भनेका छन, ‘यस सर्वोच्च निकायमा उपस्थित हामी सबै जन–प्रतिनिधिले, संविधानमा नक्सा संसोधन गरेसँगै, यथास्थितिमा नेपाली भू–भागमा रहेको भारतको उपस्थिति तथा नियन्त्रणबाट नेपाली भू’भाग प्रभावकारी नियन्त्रण सहित फिर्ता लिई छाड्छौं भन्ने संकल्प गरौं। यसका लागि सीमासँग सम्बन्धित विषयमा नेपाली कांग्रेसका सांसद र नेकपाका सांसदले दर्ता गराउनु भएका दूई भिन्न–भिन्न संकल्प प्रस्ताव संसदमा दर्ता छन्। बदलिएको परिवेशमा यी दुई संकल्प प्रस्तावलाई पूनर्लेखन गरी परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको हाम्रो भू–भाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्प सहितको (साझा संकल्प प्रस्ताव) मस्यौदा गरौं र सर्वसम्मत रुपमा संसदबाट संकल्प पारित गरौं।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast