शनिबार, जेष्ठ २४, २०७७
    स्वास्थ्य

    नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघ्यो, ७० जना कोरोना मुक्त

    शुक्रबार, ९ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय नाघेको हो।

    सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल र विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै अहिलेसम्ममा नेपालमा सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ।

    सङ्क्रमित हुने कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षका पुरुष रहेको जनाइएको छ। डडेल्धुराका २८ र बैतडीका २२ वर्षका पुरुष रहेका छन्। बाँकेका १४ जना सङ्क्रमित रहेका छन्। आज सङ्क्रतित हुने १८ देखि ६१ वर्ष उमेर समूहका रहेका र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।

    शुक्रबार बिहान मात्र  ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नवलपरासी (बर्दघाट सुस्ता पूर्व),चितवन, नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका थिए।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा संक्रमित भेटिएका थिए। संक्रमितहरु नवलपरासी, चितवन, कपिलवस्तुका रहेको मन्त्रालयले जनाएको छ।

    त्यसैगरी हालसम्म यो भाइरस सङ्क्रमण हुने जिल्ला ४० पुगेको छ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। सरकारले हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ को परीक्षण गरेको छ भने आरडिटीबाट ८२ हजार ११६ को परीक्षण गरेको छ।

    यस्तै कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना आज निको भई घर फर्किएका छन्। आज निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइराखेका थिए। निको हुनेमा महिला नौ र पुरुष १२ रहेका छन्। योसँगै निको हुनेको सङ्ख्या ७० पुगेको छ। २० दिनको अस्पताल बसाइपछि उनीहरु आज घर फर्किएको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast