शनिबार, जेष्ठ १७, २०७७
    स्वास्थ्य

    पहिलोपटक टेकु अस्पतालका डाक्टरमा भेटियाे कोरोना संक्रमण

    बुधबार, ७ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, ७ जेठ । नेपालमा पहिलोपटक उपचारमा संलग्न डाक्टरलाई नै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

    काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    ‘उहाँसँग सम्पर्कमा भएकाहरुलाई पनि अब आइसोलेसनमा राख्छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ती डाक्टर ललितपुरको पाटनमा बस्दै आएका स्रोतले जनाएको छ।

    उनी आफैँ कोरोना रेस्पोन्स टिममा संलग्न थिए। राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। महाशाखामै कार्यरत डाक्टरलाई कोरोना भएको पाइएपछि उनलाई टेकु अस्पतालकै आइशोलेसनमा राख्ने तयारी गरिएको छ।

    उनी कन्ट्याक्ट ट्रेसिङको क्रममा कपिलवस्तु गएका स्रोतले जनाएको छ। कपिलवस्तुमा जाँदा संक्रमण भएको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।

    यसअघि नेपालमा तीनजना नर्समा पनि संक्रमण देखिएको थियो। धनकुटाको जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया एक नर्सलाई कोरोना देखिए पनि उनका ५ वर्षीय छोरालाई भने कोरोना देखिएको छैन।

    त्यसैगरि कपिलवस्तु अस्पताल र चितवनको नारायणी अस्पतालमा कार्यरत दुई नर्समा पनि कोरोना पुष्टि भएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast