शनिबार, जेष्ठ २४, २०७७
    बिदेश

    कालापानीको विवाद नेपाल र भारतको होः चीन

    मंगलवार, ६ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएपछि नेपालमा लकडाउनका बीच त्यसको विरोध भइरहेको छ। छ महिना अघि नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा पास गरेको थियो।

    भारतको उक्त कदमवीरुद्ध नेपालमा सडक र संसदबाट विरोध भइरहेको छ। नेपाल र भारतीय सीमामा पर्खाल र तारबार लगाउनु पर्ने आवाज उठेका छन्। सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक जारी गरिसकेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल भित्र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याइने बताएका छन्। उनले कूटनीतिक तवरबाट यस विवादको समाधन गरिने बताएका छन्। कतिपय सांसदहरुले सीमा विवादको समाधानका लागि चीनको साथ र समर्थन खोज्न सुझाव दिएका थिए।

    प्रधानमन्त्री ओलीले यस विषयमा चिनियाँ अधिकारीसँग कुराकानी भएको आज संसदमा भनेका थिए। तर यता चीनले भने कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको प्रतिक्रिया दिएको छ। उक्त विषय दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास चीनले व्यक्त गरेको छ।

    तर यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ। नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भनेका छन्, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन्।’

    साथै चीनले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, बाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast