शनिबार, जेष्ठ २४, २०७७
    बिदेश

    सार्वजनिक रुपमै ट्रम्पमाथि खनिए बराक ओबामा

    आईतवार, ४ जेष्ठ २०७७, आहाखबर

    वासिङटन, ४ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले कोभिड–१९ को महामारीसँग जुध्नका लागि ट्रम्प प्रशासनको काम कारवाहीको कडा आलोचना गरेका छन् ।ओबामाका अनुसार ट्रम्प प्रशासनका केही अधिकारीले त जिम्मेवारी निभाइरहेको छु भनेर ढोंगसमेत गरिरहेका छैनन् ।

    पूर्व राष्ट्रपतिले सो कुरा कलेज र विश्वविद्यालयमा पढ्ने अश्वेत विद्यार्थीको दिक्षान्त समारोहलाई अनलाइनमार्फत् सम्बोधन गरिरहेका बेला भनेका हुन् ।

    ओबामाका अनुसार श्वेत व्यक्तिको तुलनामा अश्वेत समुदायमा कोरोनाको जुन भयानक असर परिरहेको छ, त्यसले अमेरिकी व्यवस्थाको कमीलाई उजागर गरेको छ ।

    कोभिड–१९ को महामारीका बेला ओबामाले सार्वजनिक रुपमा सम्बोधन गरेको कमै देखिएको छ । ओबामाले विद्यार्थीसमक्ष भने, ‘जिम्मेपार पदमा बसेका मानिसहरुले के गरिरहेका छन् भनेर यो महामारीले एउटा कुरा त स्पष्ट पारिरहेको छ । तीमध्ये धेरै मानिसहरु यस्ता छन् जसले आफू कुनै कुराका लागि जिम्मेवार छु भनेर देखावटी समेत गरिरहेका छैनन् ।’

    ओबामाले महामारीको प्रभावबारे कुरा गरिरहेका थिए । यद्यपि, उनले कसैको नाम लिएनन् ।

    सन् २०१७ मा पद छोडेपछि बराक ओबामाले चर्चाबाट दुरी बनाएका थिए । सार्वजनिक रुपमा सायदै उनले यो बीचमा कुनै बयान दिएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast