शनिबार, जेष्ठ २४, २०७७
    बिदेश

    वुहानका सबै मानिसकाे काेराेना परीक्षण १० दिनभित्र गरिने

    बिहिवार, १ जेष्ठ २०७७, आहाखबर

    चीनको वुहान सहरमा सोमबार एकैपटक १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ दोस्रो लहरको प्रकोप फैलिन सक्ने बताइएको छ । मंगलबार भने एकजना व्यक्तिमा मात्र भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यीमध्ये ६ जना संक्रमित वुहानमा भेटिएका हुन् । 
    चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार इनर मंगाेलिया क्षेत्रमा फेलापरेका नयाँ सङ्क्रमित भने बाहिरबाट आएका हुन्।
    याेसँगै चीनमा सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ८२ हजार नौ सय १९ पुगेको छ ।
    सन् २०१९ को डिसेम्बरमा पहिलोपटक वुहानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । दुई महिनाभन्दा बढी समय लकडाउन भएका चिनियाँ सहरहरू भाइरसको संक्रमण नियन्त्रणमा आएपछि बिस्तारै खुलेका छन् । 
    यही समयमा पुनः संक्रमण देखिएपछि वुहानका अधिकारीलाई त्यहाँ रहेका सबै बासिन्दाको स्वास्थ्य परीक्षण गर्न आदेश दिइएको छ । वुहानमा एक करोड १० लाख मानिस बसोवास गर्छन् । १० दिनभित्र त्यहाँका बासिन्दा सबैको परीक्षण कसरी गर्ने भनेर योजना पेस गर्न सम्बन्धित जिल्लालाई भनिएको वुहानको एन्टिभाइरस विभागलाई उद्धृत गर्दै चिनियाँ मिडियाले जनाएका छन् । परीक्षणका लागि उच्च जोखिममा रहेका समुदाय तथा आवासीय क्षेत्रलाई प्राथमिकीकरण गर्न पनि सूचना दिइएको छ । 
    जनवरी २३ बाट बन्द गरिएको वुहान अप्रिल ८ मा खोलिएपछि स्थानीयस्तरमा पहिलोपटक संक्रमण देखिएको हो । मे १० र ११ मा भेटिएका ६ जना संक्रमित एकल आवासीय क्षेत्रमा भेटिएका हुन् ।
    यता, उत्तर कोरियासँग सिमाना जोडिएको जिलिन प्रान्तको शुलान सहरमा ११ जना संक्रमित भेटिएपछि त्यहाँ लकडाउन गरिएको छ । सहरका सबै सार्वजनिक स्थान बन्द गरिएको छ । त्यहाँ एक व्यक्तिबाट परिवारका अन्य सदस्यमा संक्रमण सरेको बताइएको छ । 
    पछिल्लो १४ दिनमा चीनका सातवटा प्रान्तमा नयाँ संक्रमित देखिएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । 
    चीनका धेरै सहरहरूमा बार तथा सिनेमाघरहरू अझै बन्द छन् । सार्वजनिक भेलालाई प्रतिबन्ध लगाइएको छ । सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको प्रयोग तथा सामाजिक दूरीलाई अनिवार्य गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast