शनिबार, जेष्ठ २४, २०७७
    स्वास्थ्य

    डब्लुएचओ भन्छ- कोरोना भाइरस एड्सजस्तै कहिल्यै अन्त्य नहुन सक्छ

    बिहिवार, १ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, १ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विश्वबाट कहिल्यै अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । 

    डब्लुएचओका आपतकालीन मामला निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअअ प्रेस कन्फ्रेन्समा भने, ‘कोरोना हामीबीच क्षेत्र विशेषको एक अन्य भाइरस बन्न सक्छ र हामीबाट कहिल्यै नसकिन पनि सक्छ ।’

    उनले एचआईभीको उदाहरण दिँदै यो भाइरस कहिल्यै नसकिएको बताए । माइकल रयानका अनुुसार खोपबिना आम मानिसलाई यो रोगसँग लड्नका लागि इम्युनिटीको उपयुक्त स्तर हासिल गर्न केही वर्ष लाग्नसक्ने बताए ।

    कोभिड–१९ को खोप तयार गर्नका लागि कोशिस भइरहेको छ । विश्वभर करिब १ सय खोप बनाउनका लागि काम भइरहेको छ । तर विज्ञहरुले खोप बनाउने प्रयास विफल हुनसक्ने चेतावनी दिएका छन् । 


    विश्वभर कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी नै रहेपनि कतिपय देशले लकडाउन खुकुलो पार्न सुरु गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले लकडाउन खुला गरिएपछि संसारभरमा संक्रमितको संख्या बढ्नसक्ने चेतावनी दिएका छन् । 

    उनले भने, ‘केही देश अहिलेको लकडाउनको अवस्थाबाट बाहिर आउन अलग अलग तरिका अपनाइरहेका छन् । तर डब्लुएचओले सबैलाई सतर्क रहन सल्लाह दिइरहेको छ । सबै देशले अझै पनि उच्चतम स्तरको अलर्टमा रहने आवश्यकता छ ।’

    विश्वका केही देशले भाइरस संक्रमणदर कम भएको भन्दै लकडाउन खुला गरेका छन् । तर रयानले भने, ‘जुन देशले लकडाउन खुला गरिरहेका छन्, त्यहाँ ‘जादुमयी सोच’ ले काम गरिरहेको छ ।’ उनले अझै जनजीवन सामान्य हुनका लागि धेरै समय लाग्न सक्ने बताए । 

    उनले भने, ‘हामीले वास्तविकतामा सोच्नुपर्दछ र यो महत्वपूर्ण छ । मेरो विचारमा यो भाइरस कहिलेसम्म रहन्छ भनेर कसैले पनि भन्न सक्दैन । यसलाई लिएर कसैले बाचा गर्न पनि सक्दैन र मिति तोक्न पनि सक्दैन ।’

    उनले भाइरसको उपचार खोज्नु एक लामो भएको र यसको उपचार नै पत्ता नलाग्न सक्ने खतरा पनि रहने बताए । उनले कोरोनाविरुद्धको खोप बनेमा पनि संसारभर परीक्षण गर्नुपर्ने र भाइरस नियन्त्रणका लाग ठूलो प्रयासको आवश्यकता रहेको बताए । 

    डब्लुएचओका महामारी रोग विशेषज्ञ मारिया भेन केरखोभेले भने, ‘हामीले यो महामारीबाट बाहिर निस्कन लामो समय लाग्नसक्छ भन्ने मानसिकता बनाउनुपर्छ ।’ 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast