मंगलवार, जेष्ठ २०, २०७७
    लाइफस्टाइल

    आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना

    शुक्रबार, १९ बैशाख २०७७, आहाखबर

    काठमाडाैं, १९ वैंशाख। आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पश्चिमका केही ठाउँमा त अहिले पनि वर्षा भइरहेको छ। र, यो पूर्व सर्ने क्रममा छ।

    ‘वर्षाको सम्भावना त अहिलेदेखि नै देखिन्छ,’ शुक्रबार बिहान साढे ७ बजे नेपालखबरसँग उनले भने, ‘सिस्टम (पानी पार्ने प्रणाली) पश्चिमबाट पूर्व सरिरहेकाले काठमाडौं उपत्यकालगायत स्थानमा दिउँसो वा अपराह्नपछि वर्षा हुने अनुमान छ।’

    आज देशका केही स्थानमा तर जुनसकुै ठाउँमा हावाहुरी, चट्याङका साथ वर्षा हुने देखिएको उनले बताए।

    विशेषगरी अहिले हावाहुरी र चट्याङबाट बच्नुपर्ने मौसम रहेको मौसमविद्को सुझाव छ।

    मौसमविद् राजु प्रधानांगले चट्याङबाट बच्न यस्ता सुझाव दिएका छन्ः
    १. चट्याङ कहाँ कतिखेर पर्छ थाहा हुँदैन त्यही भएर गड्यागुडुङ भएका बेला घरभित्रै बस्नु सुरक्षित हुन्छ

    २. घरबाहिर छौं भने अग्ला रूख, टावर, घर तथा बिजुलीको पोलनजिक नरहने, किनकि त्यसमा चट्याङ पर्ने सम्भावना हुन्छ। खुला ठाउँमा छौं भने घोप्टो परेर बस्नु सुरक्षित हुन्छ।

    ३. गड्याङगुडुङ अर्थात् मेघगर्जन भइरहेका बेला टेलिभिजन, टेलिफोन तथा डेस्कटप कम्प्युटर नचलाउने। किनकि त्यसका तार बिजुलीका पोलमा जोडिएका छन्, जसबाट चट्याङ आकर्षण हुन सक्छ।

    ४.तर मोबाइल तथा ल्यापटप चलाउन हुन्छ कि हुँदैन भन्ने विषयमा विज्ञका दुई खालका तर्क छन्। कसैले त्यसमा पनि धातु हुने भएकाले चट्याङ तानिन सक्छ भनेका छन् भने कसैले त्यसको तार कतै नजोडिने वेबमार्फत चल्ने भएकाले हुन्छ भनेका छन्।

    ५. घरमै पनि चट्याङ परेर दुर्घटना हुने गरेका छन्। तर पनि तुलनात्मक रूपमा बाहिर भन्दा घरभित्रै बस्नु सुरक्षित हुन्छ। घरमै चट्याङ पर्नाका कारणचाहिँ अर्थिङ (विद्युतीय साधन भूमिगत) गरिएको घर अलि सुरक्षित हुने र नगरिएको घर जोखिममा हुने देखिन्छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast