मंगलवार, जेष्ठ २०, २०७७
    लाइफस्टाइल

    अझै केहि दिन माैसम खराब रहने, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    बुधबार, १७ बैशाख २०७७, आहाखबर

    काठमाडौं, १७ वैशाख। पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन ।

    वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ । हाल देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्य पहाडी भूभागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ ।


    दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    भोलि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast