शनिबार, जेष्ठ १७, २०७७
    स्कुल-कलेज

    लकडाउन खुकुलाे भए पनि विद्यालय तत्काल खुल्दैन: शिक्षा मन्त्री पोखरेल

    आईतवार, १४ बैशाख २०७७, आहाखबर

    काठमाडाैं, १४ वैशाख।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् ।

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा २२ चैतदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा उनले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भएर पठनपाठन गर्ने अवस्था छिट्टै नआउने भएकाले सिकाई क्रियाकलाप वैकल्पिक विधिबाट सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।

    शिक्षाको वैकल्पिक धारको नेतृत्व गरी शिक्षकलाई प्रविधिसँग नजिक बनाउन प्रयत्नशील रहेकामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन परिवारलाई उनले धन्यवाद व्यक्त गरे । विद्यालय तहको कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकिएको भए पनि कक्षा १०, ११ र १२ को परीक्षा हुन नसकेको अवस्थामा सरकारद्वारा गठित समितिको प्रतिवेदनको आधारमा स्थगन परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गरिने उनले बताए ।

    नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले कोरोना माहामारीको विद्यमान अवस्थामा शिक्षण सिकाइ क्रियाकलापका वैकल्पिक उपायको आवश्यकता रहेको बताउँदै त्यसको नेतृत्व गर्ने सङ्गठनको कास्की समितिलाई धन्यवाद व्यक्त गरे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast