शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष हतियार र विभिन्न बैंकहरूका एटीयम सहित पक्राउ

    बुधबार, २६ चैत्र २०७६, आहाखबर

    काठमाडौँ, २६ चैत । कैलालीको गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष हतियारसहित पक्राउ परेका छन् । दुई थान हतियार र ८२ हजार नगदसहित वडाअध्यक्ष रवीन्द्र शाही गड्डु पक्राउ परेका हुन् ।

    कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ र ५ को सीमानजिकै रोकिराखेको डीएल ३ सीसीआर ३९९७ भारतीय नम्बरको टोयोटा फरच्युन गाडीमा दुई थान बन्दुकसहित शाही पक्राउ परेका हुन् । 

    सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरका अनुसार शाहीको साथबाट प्वाइन्ट टुटु एलआर एक थान, त्यसमा लाग्ने गोली १४ थान तथा एयर गन १ थान र त्यसको छर्रा १९६ थान बरामद भएको छ । 

    कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साउदले सो गाडीबाट नेपाली १ हजार दरका ७१ हजार र ५ सयको नोट ५ हजार ५ सय रुपैयाँ समेत बरामद भएको जानकारी दिए । 

    त्यस्तै मेगा बैंकको एटीएम कार्ड एउटा, हिमालयन बैंकको एटीएम कार्ड एउटा, एनआईसी एसिया बैंकको एटीएम कार्ड २ वटा, गरिमा विकास बैंकको एटीएम कार्ड एउटा, आर इन्डियन बैंकको एटीएम कार्ड समेत बरामद भएको छ । 

    पक्राउ परेका वडाअध्यक्ष शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast