शुक्रबार, जेष्ठ २३, २०७७
    बैंक-बीमा

    नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

    सोमबार, २४ चैत्र २०७६, आहाखबर

    काठमाडौं, २४ चैत ।  : नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नर बनाउने निर्णय गरेको हो ।

    अधिकारी यसअघि केन्द्रीय बैंककै डेपुटी गभर्नर रहेका थिए । डेपुटी गभर्नरको कार्यकाल पूरा गरेपछि सरकारले उनलाई लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

    बोर्ड सीइओ भएकै अवस्थामा उनलाई गभर्नर नियुक्त गरिएको हो । बैंकहरुको पुँजी वृद्धि निर्णयमा उनको पनि महत्वपूर्ण भूमिका रहेको थियो । 
     
    नयाँ गभर्नरका लागि सिफारिस समितिले अधिकारीसहित वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो । सिफारिस समितिमा अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक तथा पूर्वगभर्नर विजयनाथ भट्टरार्ई र पूर्वअर्थ सचिव कृष्णहरि बास्कोटा रहेका थिए । 
     
    गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट २ जना छान्नुपर्ने प्रावधान छ ।

    कम्तीमा एक जना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था छ । ती तीनै जनाको नाममध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast