शुक्रबार, जेष्ठ २३, २०७७
    स्वास्थ्य

    काेराेनाकाे उच्च जोखिममा सुदूरपश्चिम

    सोमबार, २४ चैत्र २०७६, आहाखबर

    भीमदत्तनगर,२४ चैत   शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।

    कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा पनि खासगरी सात पहाडी जिल्लाको रोजगारीको प्रमुख गन्तव्य नै भारत हो । नेपाल र भारतमा सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहँदा दार्चुलाको सीमावर्ती बजार धारचुलादेखि कञ्चनपुरको सीमावर्ती भारतीय वनबासा बजारसम्म नेपाली मजदूर रोकिएका छन् ।

    भारतमा सङ्क्रमण देखिएपछि सुदूरपश्चिमकै ठूलो नाका गड्डाचौकीबाट सबैभन्दा बढी करिब ७० हजारको सङ्ख्यामा नेपाली घर फर्किएको तथ्याङ्क छ । चैतको पहिलो साता भारतबाट आउने क्रम बढे पनि दोस्रो साता निकै ठूलो जमात भित्रिने पूर्वानुमान गर्दै गड्डाचौकी नाकामा सेना नै खटिएर आउनेको तापक्रम मापनको काम भयो ।

    सेना पनि आफ्नो सावधानी अपनाउँदै तापक्रम मापनदेखि शङ्का लागेका बिरामीलाई अस्पताल पठाउने र हेल्थ डेस्कको व्यवस्थापनमा निकै सक्रिय रह्यो तर भारतबाट आउने हजारौँको सङ्ख्यालाई सीमामा व्यवस्थित हिसाबले राखेर सघनरूपमा चनाखो भएर स्वास्थ्य परीक्षण गर्न आवश्यक तयारी थिएन ।

    त्यसैगरी भारतबाट बढी मजदूर तथा यात्रु भित्रिनेमध्येको अर्को ठूलो नाका हो कैलालीको त्रिनगर भन्सार नाका । चैत ११ गते लकडाउनका बेला सीमानाकामा रोकिएका यात्रुहरू त्यहाँ प्रवेश पाउनुपर्ने भन्दै आन्दोलनमै उत्रिए । कैलालीको त्रिनगर र खङ्क्रौला नाकाबाट ४६ हजार नागरिक भारतबाट आएको कोभिड–१९ कैलालीका सम्र्पक व्यक्ति जयसिंह भण्डारीले बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast