शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    लकडाउनमा इँटा उद्योग सञ्चालन गरेको भन्दै झडप, प्रहरीसहित १३ जना घाइते

    सोमबार, २४ चैत्र २०७६, आहाखबर

    सुनसरी, २४ चैत। सुनसरीको दुहबीमा लकडाउनको अवस्थामा इँटा उद्योग सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि आइतबार झडप भएको छ । झडपका क्रममा १ जना प्रहरीसहित १३ जना घाइते भएका छन् ।

    दुहबी–९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा उद्योग लकडाउनको समयमा पनि सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि स्थानीय दुई समुहबीच झडप भएको हो ।

    झडपमा प्रहरी जवान अनिल यादव घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रविण कार्कीका अनुसार घाइतेको अवस्था सामान्य छ ।

    उनीहरूको अहिले दुहवीस्थित सुनसरी सामुदायिक अस्पताल र जीवनज्योति पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

    यता झडपमा घाइते भएका ताजिब मियाँले लकडाउनकै बेला जयबाबा इँटा उद्योग सञ्चालन हुँदा उद्योगमा कार्यरत भारतीय मजदुरहरू गाउँ घुम्ने गरेकाले जोखिम बढेको बताए ।

    लकडाउनको बेला इँटा उद्योग सञ्चालन गरिएको सूचना प्रहरी र सञ्चारकर्मीहरूलाई दिएको भन्दै दुहबी– ९ का वडाध्यक्ष मेंहदी हुसैनको निर्देशनमा आफूहरूमाथि आक्रमण भएको उनले आरोप लगाए ।

    यता वडाध्यक्ष हुसैनले भने आफूले कसैलाई हातपात नगरेको र कोही कसैलाई निर्देशनसमेत नदिएको दाबी गर्दै राहतको विषयलाई लिएर स्थानीयहरूबीच झडप भएको जानकारी आफूले पाएपछि प्रहरीलाई खबर गरेको बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast