शुक्रबार, जेष्ठ २३, २०७७
    बिदेश

    कोरोनाबाट किन मर्दैछन् महिलाभन्दा बढी पुरुष ?

    आईतवार, २३ चैत्र २०७६, आहाखबर

    सारोन मोलेम । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ। चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात कम धुनेमा महिलाभन्दा पुरुष बढी भएकाले यस्तो तर्क गरिएको हो।

    तर, यहाँ एउटा वैज्ञानिक तथ्यलाई बिर्सिएको छ। त्यो हो– जीवनको निरन्तर अस्तित्वको हिसाबले महिलाभन्दा पुरुष कमजोर लिंग हो। यो जीवनको कालखण्डमा एकपटक मात्र आउने महामारीका बेलाको प्रसंग मात्र होइन। लैंगिक हिसाबमा अन्तर्निहित जैविक फाइदा जीवनको हरेक चरणमा हुन्छ। उदाहरणका लागि पहिलो जन्मदिन मनाउने मौका केटालेभन्दा केटीले बढी पाउँछन्। एक सय वर्षभन्दा बढी उमेरका मानिसमा ८० प्रतिशत महिला छन् भने ११० वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत महिला छन्।

    बलिष्ठ मांसपेसी, उचाइ तथा आकारका हिसाबले पुरुष अगाडि रहे पनि जन्मदेखि जीवनको उत्तरार्धसम्म आइपर्ने भौतिक कठिनाइ झेल्नेमा आनुवांशिक महिला अनुवाशिंक पुरुषभन्दा अघि छन्। हामीले धेरै समयसम्म पुरुष छिटो मर्नुमा आनीबानीलाई प्रमुख कारण मान्यौं। तर महिलाको बाँच्न सक्ने क्षमता लैंगिक हिसाबले अहिले पनि पुरुषभन्दा अगाडि नै छ। त्यसो भए महिलाको आनुवांशिक श्रेष्ठताको पछाडि के कारण छ त रु यो वंशाणुभित्र रहने क्रोमोजोमको तहबाट सुरु हुन्छ।

    लिंगका हिसाबले क्रोमोजोममा रहने भिन्नता हेर्दा आनुवांशिक महिलामा दुइटा एक्स क्रोमोजोम हुन्छन्, जुन एउटा पिताबाट र अर्को आमाबाट आएका हुन्छन्। आनुवांशिक पुरुषमा उसको आमाबाट प्राप्त एउटा मात्र एक्स क्रोमोजोम र अर्को वाई क्रोमोजोम हुन्छ। एक्स क्रोमोजोमले दिमागको विकास र त्यसलाई यथावत राख्न भूमिका खेल्छ।


    जीवशास्त्रीले धेरै पहिलादेखि बुझेको कुरा के हो भने दुवै एक्स क्रोमोजोमले महिलालाई तुलनात्मक लाभ दिएका छन्। त्यो कसरी भने एउटा एक्स क्रोमोजोम जगेडा रहँदाको अवस्थामा अर्को एक्स क्रोमोजोम दोषपूर्ण भए पनि त्यसले खास असर पार्दैन। यसै कारणले पुरुषको तुलनामा महिला अन्धोपनाको रोगबाट कम प्रभावित हुन्छन्।

    तर हामीले यो अतिरिक्त एक्स क्रोमोजोमको फाइदाबारे अहिले आएर बल्ल बुझ्न थालेका छौं। महिलामा एक अतिरिक्त एक्स क्रोमोजोम मात्र हुने होइन, उनीहरुको शरीरमा रहेका यी दुई एक्स क्रोमोजोम बन्दा २ हजारभन्दा बढी वंशाणुले एकआपसमा गर्ने अन्तरक्रिया र समन्वयको फाइदा जीवकोषले लिएका हुन्छन्।

    हरेक कोषले मुख्य रुपमा एक्स क्रोमोजोमको परिचालन गरेका हुन्छन्। उदाहरणका लागि एउटा एक्स क्रोमोजोममा कोभिड–१९ जस्ता भाइरसलाई पहिचान गर्ने र लड्ने क्षमता छ। मानव शरीेको प्रतिरक्षात्मक कोषले त्यसलाई नै उपयोग गर्छ। त्यस्तै अर्को अतिरिक्त एक्स क्रोमोजोमले कोभिड–१९ ले संक्रमण गरेका कोषलाई मारेर भाइरसविरुद्धको लडाइँलाई प्रभावकारी पार्छ। पुरुषमा भने एउटा मात्र एक्स क्रोमोजोम रहने हुँदा कहिलेकाहीं त्यसमा रहेका वंशाणुले कोरोना भाइरसलाई पहिचान र नष्ट गर्न नसक्दा अन्ततः संक्रमणविरुद्ध लडने क्षमता सीमित हुन पुग्छ। किनकी पुरुषसँग मात्र एउटा एक्स क्रामोजोम हुन्छ।

    यसको सारवस्तु के हो भने शरीरमा हुने आघात र तनावलाई सम्बोधन गर्न अथवा जन्मजात गम्भीर विकृति, अशक्तता तथा संक्रमण रोक्न महिलामा आनुवांशिक विकल्प छन्। जुन पुरुषमा छैनन्।दीर्घायुको हिसाबले मात्र होइन, क्यान्सर संक्रमणमा पनि महिलालाई तुलनात्मक रुपमा बढी लाभ छ। क्यान्सर भइहाल्यो भने महिलाको बाँच्ने सम्भावना बढी छ किनभने यस्ता रोगको उपचारमा प्रयोग हुने औषधिले पुरुषमा भन्दा महिलामा राम्रो प्रतिफल देखाएका छन्।

    यसैगरी हाम्रो सेक्स क्रोमोजोमले सामान्यतया सेक्स हरमोनलाई निर्धारण गर्छन्। यसमा पनि महिलालाई बढी फाइदा छ। पुरुष हरमोन टेस्टोस्टेरोनले प्रतिरक्षा प्रणालीलाई दबाउँछ भने महिला हरमोन इस्टञोजेनले प्रतिरक्षात्मक प्रणालीलाई प्रोत्साहित गर्छ।

    आफ्नो सख्त प्रतिरक्षा प्रणालीको कारण क्यान्सरका घातक कोष र आक्रमणकारी कीटाणुलाई परास्त गर्न सके पनि आफ्नो कोषले आफ्नै कोषलाई नष्ट गर्ने रोगमा भने महिला बढी जोखिममा हुन्छन्। जस्तै आनुवांशिक महिलाको प्रतिरक्षा प्रणालीले आफैलाई आक्रमण गर्न सक्छ, जसका कारण बाथरोग, थाइराइड, रक्तनली साँघुरिने रोग, छाला रोग अर्थात् लुपस, मुख तथा आँखा सुख्खा हुने जोग्रेन सिनडञोम जस्ता रोगले उनीहरुलाई गाज्न सक्छ। तर पुरुषमा एक्स र वाई दुवै क्रोमोजोम भएकाले यस्ता रोगको संक्रमणको सम्भावना कम हुन्छ।

    क्लिनिकल औषधि प्रयोगमा जैविक भिन्नताको प्रभाव लैंगिक हिसाबले कति महत्त्वपूर्ण हुन्छ भनेर हालसम्म खास अध्ययन भएको छ्रैन। अधिकांश रुपमा विद्यमान मेडिकल संरचनाले लैंगिक हिसाबले क्रोमोजोम, हरमोन र शारिरीक संरचनाको प्रभाव कति छ भनेर सही आकलन गर्न सकेको छैन।

    अधिकांश औषधि पुरुष कोष, तन्तु, अंग, पुरुष जनावर र पुरुष परीक्षण विषयमा आधारित भएर बनाइन्छ। प्रसूति तथा महिला रोगबाहेक अधिकांश रुपमा महिलालाई पुरुषलाई जस्तै क्लिनिकल रुपमा उपचार गरिन्छ। यसले गर्दा यस्ता औषधिको प्रभाव लैगिंक भिन्नताका दृष्टिकोणले कति फरक हुन्छ भनेर थाहा पाउन कठिन हुन्छ। यसका लागि थप अध्ययन जरुरी छ। यसैले पुरुष केन्द्रित र एउटा विधि सबैलाई स्वीकार्य हुन्छ भन्ने सोचबाट स्वास्थ्य प्रणाली र अनुसन्धान माथि उठ्नुपर्छ। अहिले कोभिड–१९ को महामारीका बेला यो विषय झन् बढी सान्दर्भिक बनेको छ। विश्वमा महामारीका कारण महिाभन्दा पुरुषको बढी मृत्यु भइरहेको छ। यो अध्ययनको विषय हो, बन्नुपर्छ।

    २० वर्षअघि इन्स्टिच्युट अफ नेसनल एकेडेमी अफ साइन्सले गरेको एक अध्ययनमा भनिएको थियो– पुरुष र महिला आफैंमा आधारभूत रुपमा फरक छन्। तर औषधि प्रयोगका हिसाबले २० वर्ष बित्दा पनि यसमा खास उल्लेख्य अध्ययन र अनुसन्धान हुन सकेको छैन। यसैले हामी परम्परागत सोचबाट बाहिर निस्कन पर्छ। हाम्रो ध्यान र अध्ययन कसरी आनुवांशिक रुपमा र जैविक शक्तिका हिसाबले महिला पुरुषभन्दा फरक छन् भन्ने विषयमा केन्द्रित हुनुपर्छ र औषधिको भविष्य यही कुरामा निहित हुनेछ। आजको नागरिक दैनिकबाट

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast