बिहिवार, जेष्ठ २२, २०७७
    स्वास्थ्य

    सीमावर्ती गाउँमा कोरोनाका ६ संक्रमित भेटिएपछि मर्चवारवासी त्रसित

    आईतवार, २३ चैत्र २०७६, आहाखबर

    भैरहवा, २३ चैत । सीमावर्ती भारतीय गाउँमा ६ जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएपछि त्यसको प्रभाव यताका बासिन्दामा देखिएको छ । घटना सार्वजनिक भएपछि रूपन्देहीको दक्षिणी क्षेत्रमा रहेको मर्चवारीमाई गाउँपालिकावासी त्रसित बनेका छन् ।

    सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपास शनिबार बिहान ६ जनामा कोरोना संक्रमण भेटिएको हो । कोल्हुई र मर्चवारीमाई गाउँपालिका १० मिनेटको पैदलदूरीमा रहेको र आवतजावत भइरहने भएकाले यताका बासिन्दा त्रसित छन् ।

    मर्चवारीमाई गाउँपालिकाका अध्यक्ष केशवनन्दन बानियाँले सीमावर्ती भारतीय गाउँमा कोरोना संक्रमण भेटिएपछि मर्चवार क्षेत्रमा चिन्ता बढेको बताए । संक्रमित फेला परेलगत्तै स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर ओहोरदोहोर रोक लगाउन भनिएको उनले जानकारी दिए ।

    शनिबार भेटिएका संक्रमित दिल्लीको तबलिगी मरकजमा सहभागी भई आएका व्यक्ति भएको खुलेको छ । उनीहरूलाई भारतीय प्रहरीले बुधबार नियन्त्रणमा लिएर बिआरडी मेडिकल कलेज गोरखपुरमा नमुना परीक्षणका लागि पठाएको थियो । रिपोर्ट पोजेटिभ आएपछि सबैलाई आइसोलेसनमा राखिएको छ । उनीहरूको परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

    भारतको कोल्हुई मर्चवारवासीको प्रमुख बजार हो । खुला सिमानाका कारण साइकल मोटरसाइकलमा राखेर त्यता उत्पादन हुने तरकारीजन्य कृषि उपज मर्चवार हुँदै नेपाली बजारमा बिक्रीका लागि ल्याउने गरिन्छ । जोखिम बढेसँगै प्रहरीले सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी खड्कबहादुर खत्रीले बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast