बिहिवार, जेष्ठ २२, २०७७
    स्कुल-कलेज

    एक महिनाको शुल्क मिनाहा गर्न प्याब्सनले राख्याे यस्ताे शर्त

    सोमबार, १७ चैत्र २०७६, आहाखबर

    काठमाडौं, १७ चैत । निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो ।

    निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भएको तर आफूहरूलाई पनि सरकारले केही राहत दिनुपर्ने बताएकोे छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरी बैंकबाट ऋण लिएका विद्यालयहरूलाई एक महिनाको बैंक ब्याज मिनाहाको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

    जग्गा र भवन भाडामा लिएका विद्यालयहरूलाई एक महिनाको भाडा नलाग्ने व्यवस्था सरकारले मिलाउनुपर्ने अध्यक्ष पुरीको माग छ । सरकारले भने असंगठित क्षेत्रका श्रमिकहरूसँग एक महिनाको घर भाडामा नलिन घरधनीहरूलाई आग्रह गरेको छ ।

    प्याब्सन अध्यक्ष पुरीले यस विषयमा लकडाउन खुलेपछि सरोकारवाला सबैसँग पर्याप्त छलफल गर्ने जानकारी दिए । ‘सरकारले विद्युत महसुलमा २५ प्रतिशत छुट दिएको छ । तर एक महिनाको भाडा नलिनु भनेको सय प्रतिशत छुट हो’ पुरी भन्छन्, ‘सय प्रतिशत छुट दिँदा कर्मचारीलाई तलब दिन गाह्रो पर्छ ।’

    कर्मचारीको तलब रोकिँदैन

    अधिकांश विद्यालयहरूले चैत महिनाको शुल्क लिइसकेका छन् । धेरै स्कुलले फागुन र चैतको शुल्क एकै पटक लिएका थिए । कोरोनाका कारण वार्षिक परीक्षा चैत ५ भित्र सक्न निर्देशन दिएपछि स्कुलहरुले सो निर्देशनको पालना गरे ।

    तर, लकडाउनका बेला पनि शिक्षकहरू उत्तरपुस्तिका जाँच्नमा व्यस्त रहेको विद्यालयहरुको भनाइ छ ।

    अभिभावकसँग लिने शुल्कको ठूलो हिस्सा शिक्षक, कर्मचारीको तलब व्यवस्थापनमा जाने र लकडाउनमा पनि तलब नकाटिने उनीहरु बताउँछन् । प्याब्सनका अध्यक्ष पुरी शिक्षक, कर्मचारीले चैत महिनाको पनि तलब पाउने बताउँछन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast