बिहिवार, जेष्ठ २२, २०७७
    बिदेश

    अमेरिकामा ३ सय नेपालीलाई कोरोना संक्रमण, ३० जना अस्पताल भर्ना

    आईतवार, १६ चैत्र २०७६, आहाखबर

    न्यूयोर्क, १६ चैत । यतिबेला विश्वमै सबैभन्दा बढी काेराेना संक्रमित भएकाे देश अमेरिका बनेकाे छ ।आइतबार विहानसम्म त्यहाँ १ लाख २२ हजार ६६६ जना संक्रमित भएका छन् । करिब २ हजारको मृत्यु भएको अमेरिकामा रहेका ३० जना नेपालीहरु कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।

    अमेरिकामै रहेका काभ्रेको मण्डनदेउपूर १० का देवेन्द्र नेपालका अनुसार यहाँको अवस्था दिन प्रतिदिन बिग्रदैं गएको छ । यद्यपी सरकारले लकडाउन नगर्दा काममा जानै पर्ने अवस्थाले गर्दा समस्या थपिने त्रास उस्तै छ ।

    प्राप्त एक समाचार अनुसार कोरोनाबाट संक्रमित हुने नेपालीहरू न्यूयोर्कमा ठूलो संख्यामा छन् । ब्रुकलिन केन्स काउन्टी अस्पतालमा ११ जना , उडहलमा ७ जना र एलमष्ट अस्पतालमा १२ जना नेपालीहरू उपचार गराइरहेका छन् । अझै धेरै नेपाली अस्पतालको बेड नपाएर घरमा नै बसेर औषधि उपचार गरिरहेका छन् ।

    अमेरिकामा बस्दै आएका एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ज्वरो आएपछि अस्पताल भर्ना भएका ५० वर्षीय पुरुषको एल्महर्स्ट अस्पतालमा मृत्यु भएको थियो । उनको नाम रमेश सम्फाहाम्फे हो । उनको नेपालमा घर पाँचथर हो । उनको चैत ११ गते निधन भएको थियो ।

    सुदूरपश्चिम समाज अमेरिकाका महासचिव जीवन बम कोरोना सङ्क्रमित भएका छन् । न्यूयोर्क र वरपरका राज्यमा संक्रमित भएकाहरु मध्ये ३ सय भन्दा बढि नेपाली संक्रमित भएको अनुमान गरिएको छ । यद्यपी दैनिक काममै जानु पर्ने अवस्थाले गर्दा धेरैजसोले आफूलाई परेको समस्याका बारेमा जानकारी दिने समयसम्म पाएका छैनन् ।

    यस्तैमा अर्का एक नेपाली शम्भु मोक्तानले आफू सङ्क्रमित भएको खुलाउदै अरुलाई पनि रोग नलुकाउन अपिल गरेका छन् । सरुवा रोग भएका कारण संक्रमितले आफ्नो अवस्था बताउँदा अरुलाई संक्रमित हुनबाट जोगिन मद्दत पुग्ने तर्फ हामीले सोच्नु पर्छ, उनले भनेका छन् ।

    न्यूयोर्क मात्र होइन टेक्सास र क्यालिफोर्निया लगायतका अरु राज्यमा पनि नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । तर ठ्याक्कै यति नै संक्रमित छन् भन्ने यकिन भने भइसकेको छैन । नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसंयोजक विष्णु सुवेदीले अमेरिकामा संकटमा परेका नेपालीलाई कसरी सहयोग गर्ने भनेर संघ संस्थाहरू बीच संवाद र सहकार्यको प्रयास भइरहेको बताए । अमेरिकामा रहेका नेपालीहरुलाई समस्या भए तुरुन्त सम्पर्कमा आउन आव्हान गरिएको उनले बताए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन गर्दा देशको आर्थिक अवस्था डामाडोल हुने भन्दै लकडाउन नगरि कोरोनासँग लड्ने बताउँदै आएका छन् । जसले गर्दा यहाँ दैनिकरुपमा संक्रमितहरु बढिरहेका हुन् । यद्यपी उनले धेरै संक्रमित केहि शहरमा भने क्वारेन्टाइनको व्यवस्था गर्ने संकेत दिएका छन् । तर समय धेरै घर्किसकेकाले कोरोना र अमेरिकाको युद्धमा कसले जीत मार्ला अहिले नै यसै भन्न सकिने अवस्था नरहेको विज्ञहरु बताउँछन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast