आईतवार, चैत्र १६, २०७६
    बैंक-बीमा

    सरकारको अत्यावश्यक सेवाको सूचीमा परेन बैंकिंङ, विशेष पासको व्यवस्था गरेर बैंक खुलाउने तयारी

    मंगलवार, ११ चैत्र २०७६, आहाखबर

    काठमाडौं, ११ चैत । मंगलबार बिहान ६ बजेबाट लागु हुने गरी अत्यावश्यक सेवा उपलब्ध गराउने प्रत्याभूतिसहित सरकारले १ हप्ता लकडाउन गर्ने निर्णय गरेको छ ।  तर सरकारको अत्यावश्यक सेवाको सूचीमा बैंकिंङ सेवालाई समावेश गरिएको भने छैन । 

    नेपाल राजपत्रमा पछिल्लोपटक प्रकाशित सूचनामा अत्यावश्यक सेवाको सूचीमा परे पनि पछिल्लो निर्णयमा यो अत्यावश्यक सेवाको सूचीमा नपरेपछि भोलि बैंक खुल्छ कि खुल्दैन भन्ने अन्यौलता सिर्जना भएको छ ।
     बचत गर्ने माध्यमको रुपमा रहेको बैंक नै अत्यावश्यक सेवाको सूचीमा नपरेपछि लकडाउनको समयमा दैनिक आवश्यकता पूरा कसरी गर्ने भन्नेमा नागरिकहरु चिन्तित भएका छन् । 

    तर नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा पूर्ण रुपमा बन्द नहुने जनाएको छ । राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीले प्रशासनबाट विशेष पास लिएर निश्चित शाखाका क्यास काउन्टरहरु सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिए । 

    ‘लकडाउनको समयमा सबै शाखाहरु नखुल्न सक्छन्, तर अत्यावश्यक सेवाको रुपमा रहेको बैंकिङ सेवा पूर्ण रुपमा बन्द पनि हुँदैन । हामी जिल्ला प्रशासन कार्यालयसँग भोलि बस्छौं, कुनै मोडालिटीबाट बैंकका शाखाहरु खुलाउन पहल गर्छौं’ कायम मुकायम गभर्नर शिवाकोटीले भने । यद्यपि यसबारे गृह मन्त्रालय वा जिल्ला प्रशासनको निर्णय नै अन्तिम हुने संकेत राष्ट्र बैंकले गरेको छ । 

    मंगलबार घोडेजात्रा भएका कारण उपत्यका बिदा छ । त्यसैले सदाझैं काठमाडौं उपत्यकामा बैंकका शाखा खुल्दैनन् । मंगलबार गृह मन्त्रालय र जिल्ला प्रशासनसँग बुधबारदेखि बैठक गरेर बैंकहरुलाई आवश्यक सर्कुलर गर्ने राष्ट्र बैंकको तयारी छ ।  

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast