आईतवार, जेष्ठ १८, २०७७
    कला-सौन्दर्य

    विवादरहित रहेन ‘कमेडी च्याम्पियन’!

    आईतवार, २ चैत्र २०७६, आहाखबर

    काठमाडौं, २ चैत

    गत नोभेम्बर २५ बाट कान्तिपुर टेलिभिजनमा आइतबार र सोमबार प्रसारण हुँदै आएको नेपालको पहिलो ‘कमेडी च्याम्पियन’ रियालिटी शो शनिबार साँझ सकिएको छ।

    नेपालमा कमेडीे क्रेजलाई मध्यनजर गर्दै निर्देशक विशाल भण्डारीले जन्माएको ‘शो’ हो– ‘कमेडी च्याम्पियन’। देशभरबाट आवेदन दिएका करिब १५ सय प्रतिस्पर्धीमध्येबाट आयोजक टिमले १ सय २० सम्भावना बोकेका प्रतिस्पर्धी छनोट गरेको थियो।

    उक्त १ सय २० ले रियालिटी शोका निर्णायकहरू सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराईसामु ‘अडिसन’ दिई त्यसमध्येबाट २४ उत्कृष्टलाई टेलिभिजनको स्क्रिनमा आइपुगेका थिए।

    त्यसबाट टिमले विभिन्न २८ एपसुडबाट उत्कृष्ट ३ इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन मगर र धादिङका हिमेश पन्तलाई छनोट गर्‍यो।

    ‘प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ, चित्त नबुझेको विषयमा बोल्न, सोध्न पाइन्छ। र, जहाँ प्रश्न उठ्छ, त्यसको जवाफ सम्बन्धित पक्षले दिनुपर्छ।’
    दर्शकको भोटका आधारमा छनोट भएका उत्कृष्ट तीनमध्ये सुमन र खड्गबहादुर भने भाग्यले फाइनल पुगेका हुन्। ह्वाइल्ड कार्डबाट पुनः शोमा फर्किएका सुमन र खड्गबहादुरले फाइनलसम्म पुग्नुलाई नै सबैभन्दा ठूलो कुरा मान्दै आएका थिए।

    तर, शनिबार साँझको नतिजाले सामान्य रूप तय गर्न सकेन। करिब २ घन्टा ५४ मिनेट लामो लाइभ कार्यक्रमका लागि कार्यक्रम सेट दर्शकले भरिभराउ थियो। अतिथिको रूपमा वरिष्ठ हास्यकलाकार मह–जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) लगायतको उपस्थिति थियो।

    विभिन्न प्रस्तुतिपछि कार्यक्रमको अन्तमा घोषणा गरियो– पहिलो नेपाली कमेडी च्याम्पियन हिमेश पन्त। नतिजाअनुसार खड्गबहादुर र सुमनलाई पछि पार्दै हिमेशले नगद २५ लाख, कार र अन्य विभिन्न गिफ्ट ह्याम्पर हात पारे।

    सँगै सुमन र खड्गबहादुर दर्शकको माया साथ र हौसला। तर, कार्यक्रममा विजेताको नाम घोषणापछिको अवस्था सामान्य रहेन। कमेडी च्याम्पियन कार्यक्रम र आयोजकविरुद्ध नाराबाजी नै चल्यो।

    कार्यक्रम शेटमा विजेताका रूपमा हिमेशको नाम घोषणा गरिरहँदा बाहिर खड्गबहादुरका समर्थकले ‘हाम्रो विजेता खबपु’, ‘सबैको विजेता खबपु’, ‘देशको विजेता खबपु’, ‘कमेडी च्याम्पियन मुर्दावाद,’ ‘भोट सङ्ख्या हेर्न पाउनै पर्छ’ लगायत नारा लगाइरहेका थिए।

    अनौपचारिक गफमा ‘हिजो मात्र ३४ लाखको भोट गरेको, त्यो भोट कहाँ गयो?’ जस्ता आवाज सुनिन्थ्यो। यद्यपि, त्यस बारेमा सञ्चारमाध्यमसँग कसैले खुलेर कुरा गरेनन्।

    प्रतियोगी खड्गबहादुर आफैँले पनि केही मन चिसो बनाएको महसुस गर्न सकिन्थ्यो। ‘प्रतिस्पर्धा हो भोट धेरै थोरै हुनु स्वभाविक हो, तर, कसको कति आयो भन्ने देखाइदिएको भए हुन्थ्यो। फस्ट रनरअप वा, सेकेन्ड रनरअप भनेर खुलाइदिएको भए हुन्थ्यो भन्ने चाहना हो,’ उनले ब्यङ्ग्यात्मक भावमा थपे, ‘तथापि, शोको फरम्याट हो सबैलाई सम्मान छ।’

    यस विषयमा कार्यक्रमका निर्णायक मनोज गजुरेलले कार्यक्रमको नियम अनुसार, भोटका आधारमा नै नतिजा आएको बताए। उनले प्रतियोगिका सम्भावनाका बारेमा बोल्दै भने, ‘नेपाली माटो सुहाउँदो प्रस्तुति र दर्शकको उत्साह, भोट क्याम्पेनिङ हेर्दा खड्गबहादुरको सम्भावना बलियो लाग्थ्यो, त्यतिकै बलियो सुमनको पनि थियो, तर अन्तमा जे नतिजा आयो त्यसलाई स्वीकार गर्नै पर्छ।’

    उनले अन्तमा भने, ‘प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ, चित्त नबुझेको विषयमा बोल्न, सोध्न पाइन्छ। र, जहाँ प्रश्न उठ्छ, त्यसको जवाफ सम्बन्धित पक्षले दिनुपर्छ।’

    कार्यक्रमस्थल केहीबेर अशान्त रहिरहँदा आयोजक र विरोधी पक्षबीचको केही समयको अलमलपछि स्थिति शान्त भएको थियो। कसरी विवाद सुल्झियो बन्नेबारे भने खुलेको छैन।

    यसबारे आइतबार कार्यक्रमका निर्देशक विशाल भण्डारीसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन। 

    कार्यक्रम अवधिभर विभिन्न विवादहरू निस्किएका थिए। विजेता हिमेश पन्तले धर्मविरोधी प्रस्तुति दिएको भन्दै दर्शकमाझ विरोध सुरु भएपछि आयोजकले प्रष्टीकरणसहित विज्ञप्ति निकाल्नु परेको थियो।

    त्यस्तै अर्का प्रतिस्पर्धी सुमन कार्की प्रतियोगिताबाट बाहिरिँदा पनि दर्शकले प्रतिभा होइन, यहाँ पैसा बिक्छ भन्दै असन्तुष्टि जनाएका थिए।

    हुन त नेपालमा हुने अधिकांश रियालिटी शोहरू विवाद रहित छैनन्। उदाहरणकै रुपमा लिने हो भने पनि नेपाल आइडलको पहिलो सिजन अर्थात् नेपालको पहिलो अन्तर्राष्टिय फ्रेन्साइज शो पनि विवादबाट गुज्रिएर अदालतसम्म पुगेको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast