मंगलवार, चैत्र १८, २०७६
    स्वास्थ्य

    कोरोना भाइरस सङ्क्रमणको उच्च बिन्दु पार भएको चीनको प्रतिक्रिया

    बिहिवार, २९ फागुन २०७६, आहाखबर

    काठमाण्डौ, २९ फागुन

    चीनले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको उच्च बिन्दु पार भएको जनाएको छ । 

    विश्व स्वास्थ्य सङ्गठनले भाइरस सङ्क्रमणको समस्या महामारीको रुपमा फैलिएको घोषणा गरेको केही घण्टापछि चीनले सङ्क्रमणको उच्च बिन्दु पार भएको प्रतिक्रिया दिएको हो । 

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले बेइजिङमा पत्रकार सम्मेलन गरी सङ्क्रमणका नयाँ बिरामी आउने क्रम घटिरहेको जानकारी गराउनुभएको छ ।

    चीनमा महामारीका रूपमा फैलिएको कोभिड-१९ भाइरस सङ्क्रमणको प्रभाव निकै तल झरेको भन्दै उहाँले हुवेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अङ्कमा झरेको बताउनुभयो । 

    चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय सङ्क्रमण नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उहाँको भनाइ छ । अबको केही हप्ता कोरोना भाइरस सङ्क्रमण, सङ्क्रमणका कारण ज्यान गुमाउने र प्रभावित देशको संख्या अझै बढ्ने सम्भावना रहेको स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससको भनाइ छ । पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसका कारण ११ जनाको ज्यान गएको छ  ।

    इरानमा भने ज्यान गुमाउनेको संख्या ७५ र दक्षिण कोरियामा ६ थपिएका छन् । कोरानको सङ्क्रमण भएर अहिलेसम्म ६८ हजार ३ सय ३५ जना निको भएर घर फर्किएका छन् । 

    विश्वभर ४ हजार ७ सय १७ जनाको ज्यान गएको छ । आज मात्रै कोरोना सङ्क्रमणका कारण १ सय जनाले ज्यान गुमाएका छन् । १६ सय ३४ जना नयाँ बिरामी थपिएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast