आईतवार, चैत्र १६, २०७६
    लाइफस्टाइल

    दिनभर आकाश नखुल्ने, आज मध्यान्हपछि पुन: वर्षा हुने

    शनिबार, २४ फागुन २०७६, आहाखबर

    काठमाडौं, २४ फागुन । शनिबार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा आंशिक देखि सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार पश्चिमका तराई भूभागबाहेक देशका बाँकी सबै स्थानमा गड्याङगुडुङसहित पानी परिरहेको छ।

    काठमाडौं उपत्यकामा शनिबार बिहान साढे ४ बजेदेखि नै हल्का वर्षा भइरहेको भने पश्चिमी र पूर्वी क्षेत्रमा शुक्रबार रातिदेखि नै पानी परिरहेको छ। तर पश्चिम तराईतिर पानी पर्ने क्रम कम हुँदै गएको छ र केही समयपछि रोकिने देखिन्छ भने पहाडतर्फ पानी पर्ने क्रम जारी नै रहने सम्भावना रहेको बताइएको छ।

    आज राति समेत वर्षा सहित हिमपातको संभावना रहेको विभागको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभाग विभागका अनुसार, देशको पश्चिमी भू–भागका केही स्थान लगायत मध्य तथा पूर्वी नेपालमा वर्षा भइरहेको छ । उच्च तथा हिमाली भू–भागमा हिमतपातको समेत संभावना रहेको विभागले जनाएको छ ।

    काठमाडौंमा अहिले भइरहेको वर्षा  केही समयपछि पानी पर्न रोकिए पनि मध्याह्नपछि पुनः वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

    अहिले नेपालको मौसमा स्थानीय वायुका साथै पश्चिमी वायुको समेत प्रभाव परेको छ। सामान्यतया प्रिमनसुनका बेला पश्चिमी वायु नआउनुपर्ने हो तर अहिले आइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाको भूउपग्रहको तस्बिरले हिजो राति पश्चिम र पूर्वी पहाडमा वर्षाका साथै चट्याङ परेको देखाएको छ। त्यसैले आज पनि असिना पानी, चट्याङ, हावाहुरीको सम्भावना छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast