सोमबार, आषाढ २२, २०७७
    कला-सौन्दर्य

    कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन अनिश्चित

    शुक्रबार, २३ फागुन २०७६, आहाखबर

    काठमाडौं, २३ फागुन

    यही फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति सारिएको छ । कोरोना भाइरसको जोखिमका कारण फिल्मको रिलिज मिति स्थगित गरिएको हो ।

    विश्वभर कोरोना भाइरसको भय र प्रभाव परिरहेका बेला सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि निर्धारित मितिमा रिलिज नहुने भएको हो ।

    निर्देशक सुदर्शन थापाले आफ्नो ब्यानर सुदर्शन थापा प्रोडक्सनका तर्फबाट एक विज्ञप्ति जारी गर्दै अर्को सूचना सार्वजनिक नगरी फिल्मको प्रदर्शन नगर्ने जनाए ।

    ‘आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

    साथै निर्माण टिमले फिल्म निर्धारित मितिमा रिलिज गर्न नसकेकोप्रति क्षमा पनि मागेको छ ।

    सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा पल शाह र पूजा शर्माको शीर्ष भूमिका रहेको छ । सांगीतिक प्रेमकथामा आधारित यो फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

    सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ रिलिजअघि चर्चामा छ ।

    पछिल्लो समय विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण संसारभरका फिल्म उद्योग प्रभावित भएका छन् ।

    नेपालमा कोरोनाका कारण फिल्म स्थगन गरिएको यो पहिलो हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast