मंगलवार, चैत्र १८, २०७६
    खेल संसार

    ‘नेपालको प्रर्दशनबारे गम्भीर समिक्षा हुन्छ’ – क्यान

    शुक्रबार, २३ फागुन २०७६, आहाखबर

    काठमाडौं : २३ फागुन

    नेपाल क्रिकेट संघ (क्यान) ले थाईल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालको खराब प्रर्दशनबारे गम्भीर समिक्षा गर्ने भएको छ ।

    उपाधिको प्रमुख दाबेदार रहनुका साथै वरियतामा र स्तरमा अन्य टोली भन्दा उच्च स्थानमा रहेपनि नेपाल खराब प्रर्दशन गर्दै चौथो स्थानमा रहेर बाहिरिएपछि क्यानले गम्भीर समिक्षा गर्ने जनाएको छ । नेपाल मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित हुँदा थाईल्यान्डलाई ९ विकेटले हराएको थियो । सिंगापुरसँगको खेल भने वर्षाको कारण मैदान भिजेको हुँदा टस नहुँदै रद्द हुन पुग्यो ।

    उपाधिको दाबेदार मानिएको नेपाल पाँच राष्ट्र सहभागि प्रतियोगितामा चौथो स्थानमा रहेर बाहिरिएपछि सामाजिक सञ्जालमा समर्थकले खेलाडीको चर्को आलोचना गरिरहेका छन् । क्यानले पनि यस विषयलाई गम्भीर रुपमा लिएको नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले बताए । ‘हामीले जित्छौं होला भनेको प्रतियोगितामा धेरै नराम्रो खेल्यौं, यो प्रर्दशनबारे क्यान गम्भिर छ । यस्तो किन भयो, कहाँ चुक्यौं लगायत सबै कुरामा टोली फर्किएर आएपछि खेलाडी, कप्तान, व्यवस्थापन, प्रशिक्षकदेखि सबैलाई राखेर कुरा गर्नेछौं,’ सचिव प्याकुरेलले भने ।

    ‘नेपालले यतिसम्म खराब प्रर्दशन गर्ला भनेर सोचेका थिएनौं । यो अप्रत्याशित नतिजा हो । यस्तो प्रर्दशन गर्नु राम्रो होइन । मलेसिया जस्तो कमजोर टोलीसँग पनि हामीले सहजै हार्यौं । यसमा हामीले गम्भिर समिक्षा गर्नेछौं,’ उनले थपे ।

    प्याकुरेलले टोलीमा विदेशी प्रशिक्षक भित्र्याउनेबारे प्रयास गरिरहेको बताए । ‘आज भोली नै कुनै निर्णय भएको छैन । हाम्रो तर्फबाट विदेशी प्रशिक्षक खोज्ने क्रम जारी छ । आईसीसी र एसीसीसँग पनि कुरा गरेका छौं । यसपटक हामीले टोलीसँग एक दुई वर्ष बिताउन सक्ने स्तरिय प्रशिक्षक ल्याउनेछौं । ओडीआई सम्हाल्न सक्ने प्रशिक्षक ल्याउने छौं । धेरै माथिल्लो स्तरको कोच ल्याउन हामीले आफ्नो स्तर पनि हेर्नुपर्छ । हामीले दिन सक्ने सेवा सुविधामा राम्रो प्रशिक्षक ल्याउछौं’, प्याकुरेलले भने ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast