आईतवार, चैत्र २३, २०७६
    सावधान

    नवविवाहित युवतीले त्रिशूलीमा हामफालेपछि श्रीमान् पक्राउ

    शुक्रबार, २३ फागुन २०७६, आहाखबर

    नुवाकोट, २३ फागुन । नुवाकोटमा नवविवाहित युवतीले मध्यराति त्रिशूलीमा ‘हामफाले’पछि उनका श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ।

    नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १, ढुंगेबजारस्थित चारतले घरको बरन्डाबाट नवविवाहित २१ वर्षिया सञ्जु खातीले बुधबार मध्यराति त्रिशूली नदीमा हामफालेकी हुन्।

    नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख अविनारायण काफ्लेका अनुसार त्रिशूलीको बगरमा भेटिएकी सञ्जुलाई तत्कालै जिल्ला अस्पताल 'त्रिशूली' लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। नदीसँगै टाँसिएको घर हुनाले सञ्जु पानी बगेको स्थानभन्दा वरै नदी किनारको बगरमा बजारिएकी हुन्।

    उनका पति २२ वर्षीय मौसम खाती भने घटनास्थलमा बेहोस भेटिएका थिए।जिल्ला अस्पतालमै उपचारपछि अहिले उनी स्वस्थ रहेकाे बताइएकाे छ । उनलाई घटना अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालय 'नुवाकोट'को हिरासतमा राखिएकाे छ ।

    नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाका अनुसार सञ्जुको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

    रिपोर्ट आएपछि घटनाको वास्तविकताबारे केही तथ्य पत्ता लाग्ने प्रहरीकाे विश्वास छ।

    धादिङ माइती भएकी सञ्जु र नुवाकोटका मौसम खातीको ६ महिनाअघि मात्रै विवाह भएको थियो। स्थानीयका अनुसार उनीहरूबीच जहिले खटपट परिरहन्थ्यो। शंका उपशंका भइरहन्थ्यो।

    यसक्रममा बुधबार राति पनि उनीहरूबीच झगडा भएको र श्रीमती सञ्जुले त्रिशूली नदीसँग टाँसिएर रहेको चारतले घरको बरन्डाबाट हामफालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast