आईतवार, चैत्र १६, २०७६
    बिदेश

    यूक्रेनका प्रधानमन्त्री चयन भए ४४ वर्षीय स्मिगल

    बिहिवार, २२ फागुन २०७६, आहाखबर

    कीभ, यूक्रेन, २२ फागुन

    निवर्तमान प्रधानमन्त्री ओलेक्सी होनचारूकको उपप्रधानमन्त्री रहेका देनिस स्मिगललाई बिहीबार यूक्रेनको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरिएको छ ।

    संसदमा प्रधानमन्त्रीको राजीनामाबारे भएको बहसमा राष्ट्रपति जेलेन्स्कीले ३५–बर्षीय होनचारूकले औद्योगिक उत्पादनमा आएको ह्रासलाई उकास्ने यथोचित कार्यक्रम ल्याउन विफल भएको र कर सङ्कलनको लक्ष्य पूरा गर्न नसकेको आरोप लगाएका थिए ।

    यसपहिले यूक्रेनको संसदमा प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्ने वा उनलाई नै निरन्तरता दिनेबारे भएको मतदानले उनलाई निरन्तरता नदिने पक्षमा निर्णय दिएको छ । छ महिना प्रधानमन्त्रीका रूपमा काम गरेका प्रधानमन्त्री ओलेक्सी होनचारूकको कार्यसम्पादनलाई लिएर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यापक आलोचना गरेपछि उनले राजिनामा दिएका थिए ।

    संसदमा भएको मतदानमा भाग लिएका २८१ सांसदमध्ये २७७ जनाले प्रधानमन्त्रीलाई हटाउने पक्षमा मतदान गरेका थिए भने ४० ले प्रधानमन्त्रीमा होनचारूकलाई नै निरन्तरता दिने पक्षमा मतदान गरेका थिए ।

    ‘सरकारमा नयाँ दिमाग र विचारले सरकारको नेतृत्व गर्ने आवश्यकता यूक्रेनले गरेको छ,’ राष्ट्रपति जेलेन्स्कीले भने ।

    गत महिना उपप्रधानमन्त्री बनेका ४४ वर्षीय स्मिगल यसअघि पश्चिमी इवानो–फ्रान्सेभसक क्षेत्रका प्रमुख क्षेत्रीय प्रशासक थिए ।

    प्रधानमन्त्री निर्वाचित भएपछि स्मिगलले भने, ‘यूक्रेनमा नागरिकको अपेक्षा धेरै छ र उनीहरूको धैर्य टुटिसकेको छ । आज हामी कुरा वा भाषणभन्दा नतिजा देखिने गरी काम गर्नुपरेको छ । म जनताको अपेक्षालाई सम्वोधन गर्न यथासम्भव लाग्नेछु ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast