आईतवार, चैत्र २३, २०७६
    बिदेश

    कोरोना संक्रमणकाे जाेखिमलाई हेर्दै इरानद्वारा ५४ हजार कैदी रिहा

    बुधबार, २१ फागुन २०७६, आहाखबर

    इरान, २१ फागुन । इरान सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै ५४ हजार कैदीबन्दीलाई अस्थायी रुपमा रिहा गरेको छ।

    इरानका जेलहरु भरिभराउ रहेकाले त्यहाँको सरकारले सम्भावित जोखिमलाई ध्यान दिदैं उनीहरूलाई रिहा गरेको हो।

    इरानले 'सुरक्षासँग सम्बन्धित' मामिलामा पाँच वर्षभन्दा बढी सजाय तोकिएका कैदीहरूलाई भने रिहा गरेको छैन। इरानले ५४ हजार जनालाई कोरोनाभाइरस संक्रमणको परिक्षण पश्चात रिहा गरेको हो।

    इरानको यस निर्णयले त्यहाँको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि छाँडै छुट्न सक्ने एक बेलायती सांसदले जनाएका छन्।

    ट्यूलिप सिद्दिकले इरानी राजदुतलाई उद्धृत गर्दै जाग्हारी 'सम्भवतः आज वा भोलि रिहा हुनसक्ने' आफ्नो ट्विटमा उल्लेख गरेकी छन्।

    बिबिसीमा प्रकाशित समाचारका अनुसार उनका पतिले तेहरानको एविन जेलमा रहेकी रेट्क्लिफलाई कोभिड-१९ भएको तर इरानी अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।

    तर हाल उनको परिवारसँग सम्पर्क भइसकेको छ र उनले आफू ठीक रहेको बताएकी छन्।

    उनलाई सन् २०१६ मा जासुसी गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो। उनले भने आफूमाथिको सो आरोपलाई अस्वीकार गरेकी छन्।

    बेलायतले पनि उनी निर्दोष रहेको दाबी गर्दै आइरहेको छ।

    इरानमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट कम्तीमा ७७ जनाको मृत्यु भइसकेको छ भने २३ सय ३६ वटा मामिला पुष्टि भएका छन्। यो संख्या अझ बढी हुनसक्ने अनुमान छ।

    इरानमा कयौं सरकारी अधिकारीलाई समेत कोरोनाभाइरसको संक्रमण भएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ।

    उसका अनुसार इरानी संसदका २९० सदस्यमध्ये २३ जनाको परीक्षण 'पोजेटिभु' देखिएको छ। कोरोनाभाइरसको संक्रमणबाट मध्यपूर्वमा सबैभन्दा प्रभावित इरान देखिएको छ।

    इरानका अलावा लेबनान, कुवेत, बहराइन, इराक, ओमन, कतार र संयूक्त अरब इमिरेट्समा पनि यसका संक्रमित भेटिएका छन्।

    त्यसैगरी विश्वभरि हालसम्म ९० हजार बढी मानिसहरूलाई कोभिड-१९ भएको पुष्टि भइसकेको छ भने ३१ सय जनाको ज्यान गइसकेको छ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast