मंगलवार, चैत्र १८, २०७६
    खेल संसार

    थाइल्यान्डलाई जित्नै पर्ने दबाबमा नेपाल

    मंगलवार, २० फागुन २०७६, आहाखबर

    काठमाडौं, २० फाल्गुन

    एसीसी इस्टर्न रिजन पुरुष टीट्वेन्टी कप क्रिकेट प्रतियोगितामा नेपालले बुधबार आयोजक थाइल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्दैछ। यसअघि खेलिएको दुई खेलमा नेपाली टोली पराजित भएको थियो। त्यसैले थाइल्यान्डविरुद्घको खेलमा नेपाली टोलीसँग जितको विकल्प छैन।

    गत शनिबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली मलेसियासँग २२ रनले पराजित भएको थियो। यसैगरी आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपाली टोली हङकङसँग ४३ रनले पराजित भएको थियो। अघिल्ला दुवै खेलमा नेपाली टोलीको प्रदर्शन फितलो देखिएको थियो।

    अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली टोलीको सफलतामा ब्याटिङभन्दा पनि बलिङ निर्णायक बन्दै आएको थियो। तर, यसपटक एसीसी इस्टर्न रिजन टीट्वेन्टी कपका अघिल्ला दुई खेलमा भने बलिङ पनि स्तरीय देखिएको छैन। सोही कारणले टीट्वेन्टी वरीयतामा आफूभन्दा तल रहेका प्रतिद्वन्द्वीसँग पनि नेपालले हार भोग्नु परेको थियो।

    हङ्कङविरुद्घको खेलमा त नेपालका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए। त्यसैले बुधबार हुने आयोजक थाइल्यान्डविरुद्घको खेलमा नेपाली टोलीले ब्याटिङ र बलिङ दुवैमा सुधार ल्याउनु आवश्यक देखिन्छ। उक्त खेलमा पराजित भए शीर्ष दुई स्थानमा रहँदै एसिया कपमा छनोटमा स्थान बनाउने नेपालको योजना समाप्त हुनेछ।

    दुई÷दुई खेल खेलेका सिंगापुर र हङकङ चार/चार अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा आसीन मलेसियाले भने तीन खेलबाट चार अंक जोडेको छ। दुवै खेलमा हार भोगेको नेपाल चौथो र तीन खेलमा हार बेहोरेको थाइल्यान्ड पाँचौं स्थानमा छन्। प्रतियोगितामा अब चार खेल खेलिन बाँकी छ।

    नेपालले थाइल्यान्ड र सिंगापुरसँग खेल्न बाँकी छ। यसैगरी हङकङले सिंगापुर र मलेसियाको सामना गर्न बाँकी छ। आफ्ना दुवै खेलमा विजयी भए नेपालको चार अंक पुग्नेछ। यसैगरी बाँकी दुई खेलमा सिंगापुर र मलेसियालाई हराए हङकङको आठ अंक पुग्नेछ। त्यसपछि नेपालसँगै सिंगापुर र मलेसियाको चार/चार अंक हुनेछ। यस्तोमा अंक तालिकाको दोस्रो स्थानमा रहने टोलीको टुंगो नेट रनरेटका आधारमा लगाइने छ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast