आईतवार, चैत्र २३, २०७६
    बिदेश

    अफगानिस्तान पसेको १८ वर्षपछि अमेरिकाले गर्‍याे तालिवानसँग शान्ति सम्झौता

    आईतवार, १८ फागुन २०७६, आहाखबर

    एजेन्सी, १८ फागुन । अफगानिस्तान पसेको १८ वर्षपछि अमेरिकाले तालिवानसँग शान्ति सम्झौता गरेको छ । अफगान सरकारले सम्झौताको स्वागत गर्दै ३० दिनभित्र स्थायी युद्धविरामका लागि प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकाले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नेसमेत वचन पनि दिएको छ ।

    सम्झौता कार्यान्वयन भएमा अबको १४ महिनापछि अमेरिकी तथा उसको सैन्य गठबन्धनका सुरक्षाफौज, गैरसैनिक व्यक्तिहरू अफगानिस्तानबाट फिर्ता हुनेछन् । साढे चार महिनामा हालको १४ हजारबाट अमेरिकी फौज आठ हजार ६ सयमा सीमित हुनेछन् ।

    यता, अफगानिस्तानमा तालिवानसहितको नयाँ सरकार गठन हुनेछ । अमेरिकी सहयोगमा अफगानिस्तान सरकार, सरोकारवाला र तालिवान समूहबीच २७ फागुनमा वार्ता हुने तय भएको छ ।

    त्यसअघि नै अफगानिस्तान सरकारले एक हजार तालिवान बन्दी रिहा गर्नेछ । तालिवानको मागअनुसार बाँकी चार हजार बन्दी थप तीन महिनामा रिहा हुनेछन् ।

    तालिवानले अफगान भूमिमा अमेरिकाको सुरक्षाविपरीत गतिविधिमा पूर्ण रोक लगाउने तथा अमेरिकाले तालिवानविरुद्ध लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने सहमति भएको छ ।

    दोहामा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसहित अन्य ३० भन्दा बढी देशका कूटनीतिक प्रतिनिधिको रोहबरमा भएको शान्ति सम्झौतामा अमेरिकाका तर्फबाट विशेष दूत जालमे खालिलजाद र तालिवानका तर्पmबाट राजनीतिक उपप्रमुख अब्दुल घानी बरादरले हस्ताक्षर गरेका छन् ।

    समारोहमा कतारका लागि नेपाली राजदूत डा.नारद भारद्वाज पनि सहभागी भए । सम्झौतामा भनिएको छ, ‘१० मार्चमा तालिवान र अफगान सरकारबीच वार्ता सुरु हुनेछ, त्यसपछि स्थायी तथा विस्तृत युद्धविराम हुनेछ ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast