बिहिवार, जेष्ठ १५, २०७७
    खेल संसार

    ११ वर्षपछि मलेसियासँग नेपालको हार

    शनिबार, १७ फागुन २०७६, आहाखबर

    १७ फागुन, काठमाडौं

    एसीसी टी-२० इस्टर्न रिजन २०२० को च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको छ ।

    मलेसियासँग नेपालले ११ वर्षपछि हार व्यहारेको हो । सन् २००९ को एसीसी टी-२० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो । तर यो पटक मलेसियाले बाजी मार्‍यो ।

    शनिबार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । बलिङ ठिकठाक गरेको नेपालले ब्याटिङमा भने न राम्रो शुरुवात गर्न सक्यो, न राम्रो फिनिसिङ । १५५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

    नेपालको सुरुवात नै खराब रहृयो । पहिलो पटक सिनियर टिममा ओपनिङ गरेका कुशल मल्ल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर १ रन थियो । पूर्वकप्तान पारस खड्का ९ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाल्दै तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । कप्तान मल्ल ३८ रनमा आउट भए । चौथो विकेटका रुपमा ऐरी ३८ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ११० रन थियो ।

    थप २२ रन जोड्दा नेपाल अलआउट भयो ।

    १७औं ओभरमा पवन सर्राफ १९ रन बनाए आउट भए भने १८औं ओभरमा आरिफ शेख आउट भए । आरिफले ५ रन जोडे । १९औं ओभरमा पनि नेपालले विकेट गुमायो । करण केसीले मात्र २ रन बनाए पेभलियन फर्किए ।
    अन्तिम ओभरमा मात्र नेपालले तीन विकेट गुमाएको थियो । विनोद भण्डारी ७ रन बनाएर आउट भए भने सन्दीप लामिछाने १ रन बनाएर आउट भए । यस्तै सुशन भारी डकआउट भए ।

    मलेसियाका लागि शर्भिन मुनिएन्डीले अन्तिम ओभरमा ३ विकेट लिए ।मुनिएन्डीले कूल ४ विकेट लिए । पवनदिप सिंह, सयजरुद एजत इऽुस, खिजर हायत दुरानीले २-२ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले सायद अजिज सायद मुबारकको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

    नेपालले शुरुवातमा विकेट लिएपनि सायद अजिज र अमिनुदिन रामलीले छैटौं विकेटका लागि अर्धशतकिय साझेदारी गर्दै मलेसियाका लागि मध्यम स्कोर बनाएका थिए । ८९-५ अवस्थामा रहेको मलेसियाको इनिङ्स सनयद अजिज र रामलीले सम्हालेका थिए । दुबैले छैटौं विकेटका लागि ६३ रनको साझेदारी गरे । करण केसीले अन्तिम ओभरमा रामलेलाई आउट गर्दै साझेदारी तोडेका थिए ।

    मलेसियाका लागि सायद अजिज सायद मुबारकले अर्धशतक बनाए । उनले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए । ओपनर मोहम्मद अजवर अरुदिनले ३१, कप्तान अहमद फैज मोहमद नुरले ३० र अमिनुदिन रामलीले २९ रन जोडे ।

    नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा अभिनाश बोहराले २ हात पारे ।

    सन्दीपको १०० विकेट पुरा

    मलेसियाको पहिलो विकेट लिएसँगै सन्दीप टी-२० क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बने । खेलको तेस्रो ओभरमै बलिङ गरेका सन्दीपले भिरनदिप सिंहलाई आउट गरेका थिए । त्यही ओभरमा उनले खिजार हायत दुरानीलाई डक आउट गराए । त्यो ओभरमा सन्दीपले २ विकेट लिँदै कुनै रन दिएनन् ।

    नवौं ओभरमा सन्दीपले अनवर अरुलिनलाई आउट गर्दै तेस्रो विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा १ ओभर मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । मलेसियाविरुद्ध ३ विकेट लिएपछि राष्ट्रिय टिमका लागि सन्दीपको विकेट संख्या ३१ पुगेको छ । ७१ विकेट उनले विश्वका विभिन्न प|mेन्चाइज टी-२० लिगमा लिएका थिए ।

    अभिनाशले १४औं ओभमा अहमद फैज मोहमद नुर र मोहमम्द अरिफ जमालदिनलाई आउट गरेका थिए । अभिनाले ४ ओभरमा ३९ रन रखर्चेर २ विकेट लिए । यस्तै करण केसीले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

    सिंगापुरको विजयी शुरुवात

    शनिवारै भएको उद्घाटन खेलमा सिंगापुरले विजयी शुरुवात गरेको छ । सिंगापुरले घरेलु टोली थाइल्याण्डलाई ४३ रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले निधारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

    १४० रनको लक्ष्य पछ्याएको घरेलु टोली थाइल्याण्ढ एक ओभर बाँकी छँदै ९६ रनमा अलआउट भयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast